इरानलाई हराएर विश्वकपमा सुखद सुरुवात गर्ने इङ्ल्यान्डको योजना
दोहा । पछिल्लो ६ खेलमा हार बेहोरेर विश्वकपमा प्रवेश गरेको इंग्ल्याण्डले समूह बी को पहिलो खेलमा इरानविरुद्ध विजयी सुरुवात गर्न चाहेको बताएको छ । उनीहरुबीचको खेल ४० हजार दर्शक क्षमता भएको दोहाको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । यी दुई टोलीबीच यसअघि कहिल्यै भिडन्त भएको छैन । इंग्ल्याण्डको टोली पुनः एकपटक विश्वकप दावेदारको रुपमा मैदान उत्रने भएको छ । पछिल्लो विश्वकपमा सेमिफाइनलमा पराजित भएर इंग्ल्याण्डको टोली प्रतियोगिताबाट बाहिरिएको थियो । यस्तो अवस्थामा यो विश्वकपमा इंग्ल्याण्ड टोलीको नजर उपाधि जित्नेमा हुनेछ ।
कतारमा आइतवारदेखि सुरु भएको फिफा विश्वकप २०२२ को उपाधि जित्ने अन्य सबै ठूला टोलीहरूमध्ये इङ्ल्यान्ड पनि एक हो । इरान लगातार तेस्रो पटक विश्वकपका लागि छनोट भएको छ तर अहिलेसम्म समूह चरणभन्दा अगाडि बढ्न सकेको छैन । सन् १९६६ देखि प्रतिष्ठित ट्रफीको पर्खाइमा रहेका आफ्ना फ्यानहरूको सपना पूरा गर्ने यसपटक इंग्ल्याण्डसँग अवसर छ । ह्यारी केन, फिल फोडेन, रहिम स्टर्लिङ, जुड बेलिङ्घम, बुकायो साका, ज्याक ग्रेलिस, मेसन माउन्ट, मार्कस रासफोर्ड जस्ता उत्कृष्ट खेलाडीहरू भएको थ्री लायन्स अन्तर्राष्ट्रिय फुटबलको उत्कृष्ट टोली हो भन्ने कुरामा कुनै शंका छैन।
केनको नेतृत्वमा रहेको टोलीसँग सबै टोलीलाई हराउने क्षमता छ । तर प्रशिक्षक ग्यारेथ साउथगेटले उनीहरूलाई प्रतियोगितामा कसरी प्रयोग गर्छन् भनेर हेर्न बाँकी छ । इंग्ल्यान्डका कप्तानले मध्य पूर्वमा विश्वकप ट्रफी जित्न सक्ने विश्वास रहेको बताएका छन । "हामीले जित्न सक्छौं भन्ने विश्वास छ," केनले भने। "१० वा १५ वर्षअघि हामी इङ्ल्यान्डमा जित्न सक्छौं भन्न डराउँथ्यौं। मलाई लाग्छ कि विगत चार वा पाँच वर्षमा ग्यारेथ टोलीमा जुन किसिमका परिवर्तन गरेका छन, त्यसबाट हामीले यो विश्वकप जित्न सक्छौं भन्ने आत्मविश्वास बढेको छ ।"

टिप्पणी लेख्नुहोस्