लेख विवरण

इसीए मेयर लिग टी–२० : भरतपुर इलेभेन सुपर ओभरमा विजयी

इसीए मेयर लिग टी–२० : भरतपुर इलेभेन सुपर ओभरमा विजयी

चितवन । प्रथम इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगितामा भरतपुर इलेभेनले बिएम ब्लास्टरलाई सुपर ओभरमा पराजित गर्दै फाइनलमा पुग्ने आशा जीवितै राखेको छ।

खराब मौसमका कारण १७ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ गरेको बिएम ब्लास्टरले ८ विकेट गुमाएर १२९ रन जोडेको थियो। टोलीका लागि ओपनर सनम बुढाथोकीले अर्धसतक प्रहार गरे। ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा उनले ५२ रन बनाएका थिए । प्रतियोगितामा सनमको यो पहिलो अर्धसतक रहेको थियो । उनलाई मनिष अर्यालले आउट गरेका थिए। बिएम ब्लास्टरका अन्य खेलाडीहरुको ब्याटिङ भने सम्झन लायक रहेन।

भरतपुर इलेभेनका लागि रोनिम तिवारीले ३ ओभरमा २१ रन खर्चिएर २ विकेट लिए। मनिष अर्यालले ३ ओभरमा १५ रन खर्चिएर २ विकेट लिए। दिवाश आचार्य,सन्जोश भटराई र प्रतिक श्रेष्ठले सम्मान एक-एक विकेट लिए।

१३० रनको मध्यम लक्ष्य लिएर मैदान आएको भरतपुर इलेभेनले रोनिम तिवारीले अर्धसतकमा लगातार दोस्रो जित दर्ता गर्यो । भरतपुर इलेभेनले १७ ओभरमा ८ विकेट गुमाउदै १२९ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो। रोनिम तिवारीले ४४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५७ रन प्रहार गरे। अन्तिम ओभरमा भरतपुर इलेभेनलाई ४ रन आवश्यक रहेको स्थितिमा बिएमका शुभ कंस्करले सन्जोश भटराईलाई पहिलो बल डट गर्दा दोस्रो बलमा विकेट लिए। त्सपछिको तेस्रो र चौथो बल डट हुदा पाँचौं बलमा राजन श्रेष्ठले एक रन लिए। अन्तिम बलमा ३ रन आवश्यक रहेको स्थितिमा रोनिम तिवारीले २ रन लिदा खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा ब्याटिङ गर्ने क्रममा भरतपुर इलेभेनले ९ रन बनाएको थियो। १० रनको विजयी लक्ष्य लिएर आएको बिएम ब्लास्टर ८ रनमा दुवै विकेट आउट भएपछि खेल गुमायो। बिएम ब्लास्टरलाई अन्तिम बलमा २ रन आवश्यक रहेको स्थिति भरतपुर इलेभेनका बलर दिवश आचार्यले नन-स्ट्राइकरमा रहेका सनम बुढाथोकीलाई म्यान माङ्कड गर्दा सुपर ओभरमा भरतपुर इलेभेन विजयी भएको थियो।

भरतपुर इलेभेनलाई १२९ रनमा रोक्न बिएम ब्लास्टरका सनम बुढाथोकीले ४ ओभरमा १९ रन खर्चिएर ३ विकेट लिए। शुभ कंस्करले २ ओभरमा ९ रन खर्चिएर २ विकेट लिए। खेलमा पराजित भए पनि अल(राउण्डर प्रदर्शन गरेका सनम बुढाथोकी खेलको प्लेयर अफ द म्याच भए।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.