उपाधि दौडमा रहेको चर्च ब्वाइज आर्मीसँग पराजित
काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि दौडमा रहेको चर्च ब्वाइज विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले चर्च ब्वाइजलाई १-० गोलले हरायो ।
आर्मीको जितमा जिलेस्पी जंग कार्कीले गोल गरे । कार्कीले ४३औं मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । जितसँगै आर्मि पनि उपाधि होडमा फर्किएको छ ।
हारसँगै चर्च ब्वाइजले शीर्षस्थान कब्जा गर्ने मौका गुमाएको छ । १७ खेलबाट ३० अङ्क बनाएको चर्च ब्वाइज दोस्रो स्थानमा छ । समान खेलबाट २४ अङ्क बनाएको आर्मी पाँचौं स्थानमा उक्लिएको छ ।
यस्तै च्यासल मैदानमा भएको अर्को खेलमा थ्रीस्टार क्लबलाई १–० गोलले हराउँदै साविक विजेता मच्छिन्द्र क्लब तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मच्छिन्द्रको जितमा जापानी खेलाडी युता सुजुकीले निर्णायक गोल गरे ।
सुजुकीले १०औं मिनेटमा गरेको गोल मच्छिन्द्रको जितमा प्रयाप्त बन्यो । जितसँगै मच्छिन्द्रले १७ खेलबाट २७ अङ्क बनाएको छ । समान खेलबाट २५ अङ्क बनाएको थ्रीस्टार चौथो स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्