ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा पुलिस र एनबीएससीको पहिलो जित
विराटनगर । विभागीय टोली नेपाल पुलिस र एनबीएससी क्रिकेट क्लब विराटनगरले प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएका छन् ।
प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा पुलिसले पाहुना टोली दिल्ली युनाईटेड क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै टोलीले अंक तालिकामा २ अंक जोड्न सफल भयो ।
विराटनगर जुट मिल खेलमैदानमा ८८ रनको विजय लक्ष्य पछ्याएको पुलिसले ९ ओभर ३ बलमा ३ विकेट गुमाउदै जित हात पार्यो । टोलीका लागि योगेन्द्र कार्कीले ११ बलमा ५ छक्का प्रहार गर्दै अविजित ३२ रन बनाए । सुनिल धमलाले १९ बलमा २३ रनको पारी खेल्दा अमित श्रेष्ठले २५ बलमा १९ रनको योगदान दिए । दिलीप नाथले १० रन बनाए । दिल्लीका लागि बलिङमा प्रदिप कुमारले २ तथा अंकित गोस्वामीले १ विकेट लिए ।
यसअघि पहिलो पारीमा ब्याटिङ गरेको दिल्लीले १५ ओभर ५ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । टोलीका लागि सकिट केडियाले २२ बलमा २९ रन बनाए । उनले २ छक्का र ४ चौंका प्रहार गरे । प्रदिप कुमारले १३ बलमा १९ रनको पारी खेल्दा अंकित गोस्वामीले अविजित १३ रन बनाए । दिल्लीका अन्य खेलाडीहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । पुलिसका लागि बलिङमा सागर ढकाले ३ ओभर ५ बलमा १७ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । रोशन बुढेलले २ विकेट लिए ।
आजै भएको दोस्रो खेलमा एनएनबीएससीले सुदुरपश्चिमको एनबी ग्रुप धनगढीलाई २७ रनले पराजित गरेको छ । २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको सुदुरपश्चिम १९ दशमलव २ बलमा सबै विकेट गुमाउदै १ सय ९५ रनमा सिमित भयो । सुदुरपश्चिमका लागि दिपक बोहोराले ४७ बलमा ८३ रनको अर्धशतकीय इनिङ खेले । उनले ५ छक्का र ९ चौका प्रहार गरे । नरेश २७ र हेमन्त धामीले २२ रन बनाए । एनबीएससीका बलिङमा अनुभव श्रीवास्तवले सर्वाधिक ३ विकेट लिए । एमडी शेख, मेहिङ कुमारले समान २–२ विकेट लिए ।
यसअघि पहिलो पारीमा एनबीएससीले २० ओभरमा ८ विकेट गुमाएर २ सय २१ रनको विशाल योगफल खडा गरेको थियो । एनबीएससीका लागि राहुल चौधरी र शतिस कुमारले बिस्फोट ब्याटिङ गरे । प्लेयर अफ द म्याच भएका राहुलले २२ बलमा ६ छक्का र ६ चौका प्रहार गर्दे ७३ रनको अर्धशतकीय ईङनिङ खेले । सतिशले ३३ बलमा ४ छक्का र ६ चौका प्रहार गर्दै ५७ रनको अर्धशतकीय ईङनिङ खेले । अनुभव श्रीवास्तवले ३२ बलमा ४७ रनको योगदान दिए । उनले ६ छक्का र १ चौका प्रहार गरे । सुदुरपश्चिमका लागि बलिङमा हेमन्त धामीले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ज्ञानेन्द्र बोहरा र सुमितले समान २–२ विकेट लिए ।
शुक्रबार हुने पहिलो खेल एनबीएससी विराटनगर र दिल्ली तथा दोस्रो नेपाल पुलिस र एनबी गु्रपु सुदुरपश्चिम बिच हुनेछ ।

टिप्पणी लेख्नुहोस्