एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी बने बाबर
काठमाडौंँ । पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले एकदिवसीय क्रिकेटमा अर्को कीर्तिमान बनाएका छन् । उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन् । बाबर भन्दा पहिले यो कीर्तिमान दक्षिण अफ्रिकाका पूर्व खेलाडी हासिम अमलाको नाममा थियो । अमलाले १०१ इनिङ्समा ५ हजार रन पूरा गरेका थिए ।
बाबरले घरेलु मैदानमा न्यूजिल्याण्ड विरुद्धको एकदिवसीय सिरिजको चौथो खेलमा यो कीर्तिमान बनाएका हुन् । एकदिवसीय क्रिकेटको ९७ इनिङ्समा उनले यो किर्तिमान बनाए । यो सूचीमा बाबर अहिले पहिलो स्थानमा पुगेका छन् भने अमला दोस्रो स्थानमा झरेका छन् ।
वेस्ट इन्डिजका पूर्व खेलाडी भिभियन रिचर्ड्सले एकदिवसीय क्रिकेटको ११४ इनिङ्समा ५ हजार रन पुरा गरेका थिए । भारतीय टोलीका पूर्व कप्तान विराट कोहली पनि ११४ इनिङ्सका साथ यो सूचीमा चौथो स्थानमा रहेका छन् । अष्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नर ११५ इनिङ्स खेलेर यो सूचीमा ५ औं नम्बरमा पुगेका छन् ।
एकदिवसीय ढाँचामा बाबर आजमले आफ्नो ब्याटबाट धेरै कीर्तिमान बनाइरहेका छन् । उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ४ हजार रन पूरा गर्ने दोस्रो खेलाडी पनि हुन् । बाबरले ८१ इनिङ्समा यो किर्तिमान बनाएका थिए ।
बाबरले अहिलेसम्म एकदिवसीय ढाँचामा लगभग ६० को औसतमा रन बनाएका छन्। उनले एकदिवसीय खेलमा १७ शतक र २७ अर्धशतक प्रहार गरेका छन् । बाबरले एकदिवसीयमा ८९.२४ को स्ट्राइक रेटमा रन बनाएका छन् ।

टिप्पणी लेख्नुहोस्