लेख विवरण

एकदिवसीय विश्वकप छनोटको उद्घाटन खेलमा नेपालले आइतबार जिम्बावेसँग प्रतिस्पर्धा गर्दै

एकदिवसीय विश्वकप छनोटको उद्घाटन खेलमा नेपालले आइतबार जिम्बावेसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा नेपालले आइतबार घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावेस्थित हरारे स्पोर्ट्स क्लबको मैदानमा १२ः४५ बजे सुरुहुने खेलमा नेपाल मान्यता प्राप्त घरेलु टोलीलाई हराउने लक्ष्यमा छ ।

जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो ओडिआई मान्यता प्राप्त खेल पनि हो । नेपालले जिम्बावेसँग हालसम्म एउटा मात्र ५० ओभरको खेल खेलेको छ ।

सन् २०१८ मा जिम्बावेमै खेलिएको विश्वकप छनोट खेलमा नेपाल जिम्बावेसँग एक सय १६ रनले पराजित भएको थियो । त्यतिवेला नेपालको ओडिआई मान्यता नरहेकोले लिस्ट ‘ए’ मान्यताको खेल भएको थियो ।

विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले समूहको दोस्रो खेल असार ५ गते अमेरिका, असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई रहेको छ ।

छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कूल १० टोलीको सहभागिता रहनेछ । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महत्तो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.