एकदिवसीय विश्वकप छनोटको लागि वेस्ट इन्डिजको टोली घोषणा
काठमाडौंँ । वेस्ट इन्डिजले अर्को महिना जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको लागि आफ्नो टोली घोषणा गरेको छ ।
घोषणा गरिएको टोलीमा बलिङ अलराउन्डर किमो पलले पुनरागमन गरेका छन । किमोले गत वर्ष जुलाईमा वेस्ट इन्डिजको एकदिवसीय टोलीबाट खेलेका थिए । गत वर्ष वेस्ट इन्डिजको टेस्ट टोलीले जिम्बाब्वे भ्रमण गर्दा उत्कृष्ट प्रदर्शन गरेका गुडाकेश मोतीले पनि टोलीमा स्थान बनाएका छन् ।
क्रिकेट विश्वकप सुपर लिगमा नवौं स्थानमा पुगेपछि वेस्ट इन्डिजले विश्वकप छनोट प्रतियोगिता खेल्नु परेको हो । वेस्ट इन्डिजका प्रमुख चयनकर्ता डेसमन्ड हेन्सले किमो पलको अलराउन्ड प्रदर्शनका कारण उनलाई टोलीमा बोलाइएको जनाएका छन ।
वेस्ट इन्डिज क्रिकेटले युएई विरुद्धको एकदिवसीय सिरिजमा आईपीएलमा खेलीरहेका खेलाडी बाहेककलाई मौका दिने जनाएको छ । आईपीएलमा रहेका खेलाडीहरु युएईसंको सिरिजपछि टोलीमा समावेश भएर जिम्बाब्बे जाने तालिका रहेको छ । आईपीएलका लागि कभरको रूपमा, चार अनक्याप्ड खेलाडीहरू एलिक एथानाजे, काभम होज, डोमिनिक ड्रेक्स र एकिम जोर्डन युएई सिरिजमा सहभागि हुनेछन । युएई र वेस्ट इन्डिजबीचको एकदिवसीय सिरिज जुन ७ देखी शारजाहमा हुनेछ ।
वेस्ट इन्डिजले सन् २०१९ को एकदिवसीय क्रिकेट विश्वकपमा स्थान सुरक्षित गर्न पनि २०१८ विश्वकप छनोट खेलेको थियो । उक्त प्रतियोगितामा शिर्ष स्थानमा रहदै वेस्ट इन्डिजले सन् २०१९ को एकदिवसीय क्रिकेट विश्वकप खेलेको थियो ।
आईसीसी एकदिवसीय विश्वकप छनोट जुन १८ देखी ९ जुलाई सम्म जिम्बाब्बेमा हुँदैछ । प्रतियोगितामा नेपाल सहित आयोजक जिम्बाब्बे, वेस्ट इन्डिज, श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्याण्ड, ओमान, अमेरिका र युएईले सहभागिता जनाउदै छन् । प्रतियोगिताको शिर्ष २ मा रहने टोलीले भारतमा हुने विश्वकपमा सहभागिता जनाउने छ ।
विश्वकप छनोटको लागि वेस्ट इन्डिजको टोली : शाई होप (कप्तान), रोभम्यान पावेल (विकेटकीपर), शमर ब्रुक्स, यानिक कारिया, केसी कार्टी, रोस्टन चेस, जेसन होल्डर, अकेल होसेन, अल्जारी जोसेफ, ब्रान्डन किङ, काइल मेयर्स, गुडाकेश मोती, किमो पल, निकोलस पूरन र रोमारियो शेफर्ड ।

टिप्पणी लेख्नुहोस्