लेख विवरण

एकदिवसीय विश्वकप छनोट : नेपालले टस जितेर बलिङ गर्ने

एकदिवसीय विश्वकप छनोट : नेपालले टस जितेर बलिङ गर्ने

काठमाडौंँ । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले मंगलबार (आज) अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

बलर नचलेपछि आइतबार घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित नेपाल अमेरिकाविरुद्ध पहिलो जितको खोजीमा छ । ताकाशिंगा स्पोर्ट्स क्लबमा दिउँसो १२ः४५ बजे सुरु हुने खेलमा अमेरिकाको लक्ष्य पनि पहिलो जित निकाल्ने रहेको छ ।

अमेरिका आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो । अमेरिका नेपालका लाथि तुलनात्मक रुपमा केही सहज प्रतिद्वन्द्वी हो । नेपाल र अमेरिकाबीच यसअघि ६ वटा एकदिवसीय खेल भएका छन् ।

यी सबै खेल आइसिसी विश्वकप लिग–२ अन्तर्गत खेलिएका थिए । जसमा नेपालले तीन जित, दुई हार र एक बराबरीको नतिजा निकालेको थियो । पहिलो खेलमा टेस्ट टोली जिम्बावेसँग हारेको नेपाललाई छनोट चरण पार गर्न अमेरिकासँगको खेल महत्वपूर्ण मानिएको छ ।

छनोट खेलमा नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको तेस्रो खेल असार ७ गते वेस्ट इन्डिज र अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ ।

छनोट खेलमा समूहमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली आगामी अक्टोबररनोभेम्बरमा भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।

भारतमा हुने विश्वकपमा कुल १० टोली सहभागी हुनेछन् । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।

आजको खेलमा नेपालले टोलीमा एक परिवर्तन गरेको छ । पछिल्लो खेलका क्रममा घाइते भएका सोमपाल कामीको स्थानमा ललित राजबंशीले स्थान बनाएका छन ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, ललित राजबंशी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.