एकदिवसीय विश्वकप छनोट : नेपालले टस हारेर ब्याटिङ गर्दै
काठमाडौंँ । आइसिसी एकदिवसीय विश्वकप छनोटको उद्घाटन खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ । जिम्बावेस्थित हरारे स्पोर्ट्स क्लबको मैदानमा जिम्बाब्बेले टस जितेर बलिङ गर्ने भएको हो ।
जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो ओडिआई मान्यता प्राप्त खेल पनि हो । नेपालले जिम्बावेसँग हालसम्म एउटा मात्र ५० ओभरको खेल खेलेको छ ।
सन् २०१८ मा जिम्बावेमै खेलिएको विश्वकप छनोट खेलमा नेपाल जिम्बावेसँग एक सय १६ रनले पराजित भएको थियो । त्यतिवेला नेपालको ओडिआई मान्यता नरहेकोले लिस्ट ‘ए’ मान्यताको खेल भएको थियो ।
नेपालले समूहको दोस्रो खेल असार ५ गते अमेरिका, असार ७ गते वेस्ट इन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई रहेको छ ।
भारतमा हुने विश्वकपमा कूल १० टोलीको सहभागिता रहनेछ । विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् ।
नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की ।

टिप्पणी लेख्नुहोस्