एनपीजीए टुर च्याम्पियनसिप गल्फको पहिलो दिन सुवासको अग्रता
काठमाडौँ । सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप गल्फको पहिलो दिन एमेच्योर गल्फर सुवास तामाङले अग्रता लिएका छन । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा सुवासले आठ अन्डर ६४ खेले ।
१३औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण धारी सुवासले दोस्रो स्थानमा रहेका प्रो सुक्र बहादुर राईलाई एक स्ट्रोकले पछि पारेका छन । सात अन्डर ६५ खेलेका सुक्र दोस्रो स्थानमा छन । पाँच अन्डर ६७ को समान स्कोर बनाएका एमेच्योर तासी छिरिङ र प्रो रवि खड्का संयुक्त तेस्रो स्थानमा छन ।
यसैगरी भुवन नगरकोटी, एमेच्योर सद्भाव आचार्य र दीनेश प्रजापतिले चार अन्डर ६८ खेलेका छन । चार दिने प्रतियोगितामा ३२ प्रो र १२ एमेच्योरसहित ४४ खेलाडीको सहभागिता रहेको छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले आयोजना गरको चार दिने प्रतियोगितामा ३६ होलको समाप्तिपछि शीर्षस्थानमा रहने २१ प्रो र ६ एमेच्योर थप ३६ होलको फाइनल चरणमा प्रवेश गर्नेछन् ।
कूल सात लाख ७५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनल चरणमा पुग्ने सबै प्रो नगद पुरस्कारको हकदार बन्नेछन् । एमेच्योरतर्फको विजेतालाई ट्रफी प्रदान गरिने एसोसिएसनले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्