एनपीजीए टुर च्याम्पियनसिप गल्फमा सुवासको अग्रता
काठमाडौँ । सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप गल्फको तेस्रो दिन बुधबार एमेच्योर गल्फर सुवास तामाङले एकल अग्रता लिएका छन । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगितामा सुवासले बुधबार तीन अन्डर ६९ खेले । उनको कूल १५ अन्डर २०१ स्कोर छ ।
सुवाससँग दुई स्ट्रोकले पछि परेका घरेलु प्रो भुवन नगरकोटी दोस्रो स्थानमा छन । बुधबार एक अन्डर ७१ खेलेका भुवनको कूल १३ अन्डर २०३ स्कोर छ । कूल आठ अन्डर २०८ स्कोरका सात सुक्रबहादुर राई तेस्रो स्थानमा छन । तेस्रो दिन सुक्रले एक अन्डर ७१ खेले ।
चौथो स्थानमा रहेका रवि खड्काको कूल ६ अन्डर २१० र पाँचौँ स्थानमा सद्भाव आचार्यको कूल चार अन्डर २१२ स्कोर छ । ७२ होलको चार दिने प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले आयोजना गरेको प्रतियोगिताको कूल पुरस्कार राशी सात लाख ७५ हजार रुपियाँ रहेको छ ।
प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख ३५ हजार, उपविजेताले ८८ हजार र तेस्रो हुनेले ६५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनल चरणमा पुग्ने सबै प्रो नगद पुरस्कारको हकदार बन्नेछन् । एमेच्योरतर्फको विजेतालाई ट्रफी प्रदान गरिने एसोसिएसनले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्