लेख विवरण

एलपीएल : सत्यवतीको लगातार तेश्रो जितमा सुजनको अलराउण्ड प्रदर्शन

एलपीएल : सत्यवतीको लगातार तेश्रो जितमा सुजनको अलराउण्ड प्रदर्शन

धनगढी । कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा सत्यवती एकेडेमी अत्तरिया कैलाली र गुराँस एकेडेमी अत्तरिया कैलाली विजयी भएका छन्।

दिनको पहिलो खेलमा सत्यवती एकेडेमीले शारदा बिद्या निकेतनलाई ६८ रनले पराजित गर्यो। सत्यवतीले दिएको १६५ रनको लक्ष्य पछ्याएको शारदाले १८.३ ओभरमा ९७ रनमा सबै विकेट गुमायो। तेश्रो जितका साथ सत्यवतीले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

शारदाको ब्याटिंगमा अशोक धामीले सर्वाधिक २५ रन तथा हृदय बिठारीले १५ रन बनाए। सत्यवती एकेडेमीको बलिंगमा अभिषेक कोइरालाले ३ तथा जित साउद र सुजन गौतमले २/२ विकेट लिए। निरज भट्ट र युबराज खत्रीले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनायो।

सत्यवतीको लागि सुजन गौतले सर्वाधिक ४० रन बनाए। यस्तै सोनु अन्सारीले २१, अभिषेक कोइरालाले ३५, इमरान शेखले १९ तथा खगेन्द्र जोशीले १८ रन बनाए। शारदा विद्या निकेतनका राज बमले २ तथा दिपक रोकाया र हृदय बिठारी र राजेन्द्र साउदले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच अलराउण्ड प्रदर्शन गरेका सत्यवती एकेडेमीका सुजन गौतम घोषित भए।

दिनको दोश्रो खेलमा गुराँस एकेडेमीले होलि फेमिलीलाई ५ रनले पराजित गर्यो। गुराँसले दिएको ११५ रनको लक्ष्य पछ्याएको होलि फेमिलीले २० ओभरमा ९ विकेट क्षेतीमा १०९ रन बनायो।

होलि फेमिलीको लागि कैलाश क्षेत्रीले सर्वाधिक १९ रन बनाए। अभिषेक बुढाले १४ तथा बिरेन बम, अरुण राना र मनोज खड्काले समान १३ रन बनाए।

गुराँस एकेडेमीका बलर सचिन बहादुर मल्लले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १९ रन खर्चिए। उनि खेलको प्लेयर अफ द म्याच समेत घोषित भए। अभिषेक कुँवरले २ तथा सौर्य श्रेष्ठ र रभी बिस्टले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको गुराँस एकेडेमीले २० ओभरमा ७ विकेट क्षेतीमा ११४ रन बनायो। उसको लागि सचिन साउदले सर्वाधिक ३२ रन बनाए भने बिशाल बिस्टले २४, तथा अविशेक कुँवरले १२ रन बनाए।

होलि फेमिलीका बलर प्रेम ठकुराठीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३२ रन खर्चिए। बिरेन बम, नेहाल दमाई, राहुल भण्डारी र सन्तोष बिस्टले १/१ विकेट लिए।

प्रतियोगिता अन्तर्गत शनिवार दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९ बजे लोटस आई स्कुल र भुवनेश्वरी स्कुल तथा दिउँसो १ बजे लिटल फ्ल्वार स्कुल र नव बाल बाटिका स्कुल बीच प्रतिस्पर्धा हुनेछ।


लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।

फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.