एलपीएल : सत्यवती र लोटस आई सेमीफाइनलमा
धनगढी । डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमी अत्तरिया र लोटस आई स्कुल अत्तरिया कैलालीको धनगढीमा जारि अन्डर-१९ बिद्यालय स्तरीय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करणको समुह 'बि' बाट सेमीफाइनल पुग्न सफल भएका छन्।
फाप्ला मैदानमा आइतबार सम्पन्न दुई खेलमा सत्यवतीले भुवनेश्वरी बिद्या मन्दिर कंचनपुरलाई तथा लोटस आईले सैनिक आवासीय महाबिद्यालय तेघरिलाई पराजित गर्यो।
दिनको पहिलो खेलमा सत्यवती एकेडेमीले भुवनेश्वरी बिद्या मन्दिरलाई ३९ रनले पराजित गर्यो। सत्यवतीले समुह चरणको सबै ४ खेलमा जित दर्ता गर्यो।
खेलमा सत्यवतीले दिएको १३७ रनको लक्ष्य पछ्याएको भुवनेश्वरीले १६.४ ओहरमा ९७ रनमा सबै विकेट गुमायो।
भुवनेश्वरीको लागि बिपिन धामी र कैलाश ऐरले समान १४, सुनिल चन्दले १३ तथा प्रकाश पाण्डेले १२ रन बनाए।
सत्यवतीका बलर युबराज खत्रीले सर्वाधिक विकेट लिए जसले ४ ओभरमा २३ रन खर्चिए। उनि प्लेयर अफ द म्याच घोषित भए। जित साउद र सुजन गौतमले २/२ तथा निरज भट्टले १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १३६ रन बनायो।
सत्यवतीका ब्याटर खगेन्द्र जोशीले सर्वाधिक ३७ रन बनाए। यस्तै सुजन गौतमले २६, सोनु अन्सारीले १८ तथा जित साउदले अविजित १४ रन बनाए। भुवनेश्वरी विद्या मन्दिरका कैलाश ऐर, खगेन्द्र ठगुन्ना र राहुल चन्दले २/२ विकेट लिए।
दिनको दोश्रो खेलमा लोटस आई स्कुलले सैनिक आवासीय माविलाई १०५ रनले पराजित गर्यो। समुह चारणमा सबै ४ खेल खेल्दा लोटस आईले ३ जित र १ हार दर्ता गर्यो।
खेलमा १७३ रनको लक्ष्य पछ्याएको सैनिकले २० ओभर ब्याटिंग गर्दै ८ विकेट क्षेतीमा ६७ रन मात्र बनायो।
सैनिकको लागि सन्दिप बिस्टले २४ तथा बिशाल ऐरले १६ रन बनाए। लोटसका बलर सन्तोष बिजलेले सर्वाधिक ३ विकेट तथा आयुब चन्द र प्रेम शाहले २/२ विकेट लिए।
यस अघि टस जतेर ब्याटिंग गरेको लोटस आईले २० ओभरमा ४ विकेट गुमाएर १७२ रन बनायो। उसको लागि योगेश भाटले सर्वाधिक ७८ रन बनाए जुन क्रममा १० चौका र ३ छक्का प्रहार गरे। यस्तै प्लेयर अफ द म्याच समेत घोषित आयुब चन्दले ६१ रन बनाए।
प्रतियोगिता अन्तर्गत सोमबार समुह 'ए' का दुई खेल हुनेछन्। पहिलो खेल नव बाल बाटिका बौनिया र गुराँस एकेडेमी अत्तरिया बीच तथा दोश्रो खल होलि फेमिली कंचनपुर र वेस्टर्न क्रिस्टल धनगढी बीच हुनेछ। समुह 'ए' बाट लिटल फ्लावर स्कुल धनगढीले सेमीफाइनलमा स्थान बनाइसकेको छ।
लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी कैलाली, श्री होली फेमली इ. मिडियम स्कुल भीमदत्तनगर कञ्चनपुर, शारदा विद्या निकेतन धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, नव बाल वाटिका विद्यामन्दिर बौनियाँ कैलाली, भुवनेश्वरी विद्यामन्दिर गड्डाचौकी कञ्चनपुर, वेष्टन क्रिष्टल एकेडेमी धनगढी, गुराँस एकेडेमी अत्तरिया कैलाली, सत्यवती एकेडेमी अत्तरिया कैलाली र लोटस आइ इ. सेकेन्डरी स्कुल अत्तरिया सहभागी छन् ।
फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।

टिप्पणी लेख्नुहोस्