एसइइ कप छात्र फुटसलको उपाधि ग्रिन भिलेजलाई
काठमाडौं । ग्रिन भिलेज फाउन्डेसनले प्रथम ब्राइट फ्युचर एसइइ कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
नैकापस्थित ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टु विभागद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ग्रिन भिलेजले यशस्वीलाई ६–२ गोलले पराजित ग¥यो । विजयी टोलीका कप्तान समिर बोहरा एक्लैले ४ गोल गरे । टोलीका लागि सारुन कुँवर र जेनिश बस्नेतले १–१ गोल थपे । यशस्वीका धननाथ ढुंगेलले २ गोल फर्काए ।
प्रतियोगिताको विजेताले २५ हजार नगदसहित ब्राइट फ्युचरमा प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरे । दोश्रो भएको यशस्वीले १५ हजार नगदसाथ प्लस २ मा भर्ना हुन ५० प्रतिशत छात्रवृत्ति प्राप्त ग¥यो ।
ग्रिन भिलेजका समिर प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभरि ८ गोल गरेका नेपाल राष्ट्रिय माविका होमराज नेगी सर्वाधिक गोलकर्ता बने । ग्रिन भिलेजका नितेश बस्नेत उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगितामा ध्रुव तारा अनुशासित टोली ठहरियो । चारै विधालाई ५ हजार नगदसहित प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको छ ।
विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन, पूर्व राष्ट्रिय फुटबलर रमेश बुढाथोकी, ब्राइट फ्युचरका संस्थापक निर्देशक मोहन कार्की, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, ब्राइट फ्युचर प्लस २ विभागका प्रमुख श्याम महर्जन, नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, जनार्जन ढुंगेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने नकआउट प्रतियोगितामा २५ टिम सहभागी थियो ।

टिप्पणी लेख्नुहोस्