लेख विवरण

एसिया कप क्रिकेट : भारतको खेल अर्को देशमा गराउने प्रस्ताव अस्वीकृत, श्रीलंका–बंगलादेशद्धारा आयोजना गर्न माग

एसिया कप क्रिकेट : भारतको खेल अर्को देशमा गराउने प्रस्ताव अस्वीकृत, श्रीलंका–बंगलादेशद्धारा आयोजना गर्न माग

काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप पाकिस्तानबाट बाहिर सार्ने निर्णय गरेको छ । मिडिया रिपोर्टका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रतियोगिता हाइब्रिड मोडलमा आयोजना गर्ने प्रस्तावलाई सदस्य राष्ट्रहरूले अस्वीकार गरेका छन्।

एसिया कप सेप्टेम्बर २ देखि १७ सम्म पाकिस्तानमा आयोजना हुने भएको थियो । अब यो श्रीलंकामा हुने सम्भावना बढेको छ । तर, एसिया कप पाकिस्तानबाट बाहिर सार्ने एसीसीले आधिकारिक घोषणा भने गरेको छैन ।

एसीसीको क्यालेन्डरमा सन् २०२३ मा हुने एसिया कपको आयोजना पाकिस्तानलाई दिइएको छ । बीसीसीआईले क्यालेन्डर सार्वजनिक हुनेबित्तिकै भारतीय टोली पाकिस्तान खेल्न नजाने स्पष्ट पारेको थियो । बीसीसीआईले एसिया कप तटस्थ स्थानमा आयोजना गर्न आग्रह गरेको थियो, तर पाकिस्तान क्रिकेट बोर्डले मानेको थिएन ।

पाकिस्तानले हाइब्रिड मोडलमा प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरेको थियो । तदनुसार, भारतका खेलहरू बाहिर र बाँकी खेलहरु पाकिस्तानमा आयोजना हुने भनिएको थियो ।

पाकिस्तान क्रिकेट बोर्डले पनि विश्वकप नखेल्ने बताएको छ । एकदिवसीय विश्वकप अक्टोबरमा भारतमा हुने भएको छ । पीसीबीले भारत एसिया कप खेल्न नआए आफुहरु पनि भारत नजाने बताएको छ । यससँगै पाकिस्तानले आईसीसीसँग आफ्ना विश्वकपका खेलहरू भारत बाहिर आयोजना गर्न अनुरोध गरेको छ ।

साथै, श्रीलंकाले पनि बीसीसीआईको समर्थन गरेको छ। आईसीसीले पनि पाकिस्तानका खेल (विश्वकपमा) भारतबाहिर खेल्न सहमत भएको देखिँदैन । अब पीसीबीले यस्तो अवस्थामा के निर्णय गर्छ भन्नेमा सबैको ध्यान छ ।

एसियन क्रिकेट काउन्सिलका अध्यक्ष जय शाहले एसिया कपमा भारतको खेल पाकिस्तानको सट्टा अर्को देशमा गराउने पीसीबीको प्रस्तावमा कुनै निर्णय नभएको बताएका थिए। अन्य देशबाट पनि प्रतिक्रिया लिइरहेको र सोही प्रतिक्रियाका आधारमा मात्रै अर्को निर्णय जय शाहले बताएका छन ।

एसिया कपमा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंकाले सहभागिता जनाउने छन् । नेपाल, भारत र पाकिस्तान एउटै समूहमा छन् । दोस्रो समूहमा अफगानिस्तान, बंगलादेश र श्रीलंका रहेका छन् । अब सेप्टेम्बर २ देखि १७ सम्म हुने प्रतियोगितामा पाकिस्तानले भाग लिन्छ कि लिदैन त्यो चासोको विषय बनेको छ ।

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.