एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले टस हारेर ब्याटिङ गर्दै
काठमाडौं । एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ ।
सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’ को उपविजेता कुवेतबीच प्रतिस्पर्धा हुन लागेको हो । नेपाल समूह चरणको अन्तिम खेलमा बिहीवार कतारलाई ६८ रनले पराजित गर्दै समूह ‘ए’ को शीर्ष स्थानमा रही सेमिफाइनलमा पुगेको हो ।
नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । त्यस्तै नेपालले आफ्नो तेस्रो खेलमा साउदी अरेबियासँग वर्षाका कारण प्रभावित भएपछि अङ्क बाँडेको थियो । समूह ‘बी’ मा रहेको कुवेतले बिहीवार नै भएको समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले पराजित गर्दै सेमिफाइनल नेपालसँगको भेट पक्का गरेको हो ।
आज अर्को सेमिफाइनल खेल मूलपानी क्रिकेट मैदानमा हुदैछ । समूह ‘ए’ को उपविजेता ओमानले समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र कुवेत तथा ओमान र युएईबीचको विजेता टोलीले फाइनल खेल्नेछन् भने पराजित दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल यही वैशाख १८ गते हुनेछ भने तेस्रो स्थानका लागि यही वैशाख १७ गते खेल हुनेछ ।
नेपालको ११ : रोहित पौडेल, दिपेन्द्र सिंह ऐरि, कुशल भुर्तेल, अशिफ शेख (विकेटकिपर), आरिफ शेख, भिम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, ललित राजबंशी, करण केसी र सोमपाल कामी ।
कुवेतको ११ : मोहम्मद असलम (कप्तान), इलियास अहमद, मोहम्मद अमिन, क्लिन्टो एन्टो, मिट भावसार (विकेटकिपर), अदनान इद्रिस, शिराज खान, परविन्दर कुमार, सैयद मोनिब, उस्मान पटेल (विकेटकिपर), यासिन पटेल, शाहरुख कुद्दुस, रविजा सन्दारुवान, बिलाल ताहिर ।

टिप्पणी लेख्नुहोस्