एसिसी प्रिमियर कप : कतारद्धारा साउदी अरेबियालाई २ सय १७ रनको लक्ष्य
काठमाडौंँ । काठमाडौंमा जारी एसिसी प्रिमियर कपमा कतारले साउदी अरेबियालाई २ सय १७ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कतारले ४९.५ ओभरमा २ सय १६ रन बनाउदै अलआउट भयो । टोलीका लागि मोहम्मद तनवीरले सर्वाधिक ४६ रन बनाए । कामरान खान (३६), इमल लियानागे (३१), कप्तान मोहम्मद रिजलान (२८) र खुर्रम शाहजाद (२७) र इक्रामुल्लाह खानले (१४) रन बनाए । सन्दुन विटानगे १४ रनमा अविजित रहे ।
साउदी अरेबियाका लागि बलिङमा इश्तियाक अहमदले ९.५ ओभरमा ४६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । आतिफ–उर–रहमान, जैन उल अबिदिन र अहमद बलद्रफले समान २–२ विकेट लिए । १ सय १७ रनको लक्ष्य पाएको साउदीले अहिले ब्याटिङ गरिरहेको छ ।
मुलपानीमा जारी अर्को खेलमा बहराइनले कुवेतलाई २ सय ५६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको बहराइनले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउदै २ सय ५५ रन बनायो । टोलीका लागि इमरान अनवरले सर्वाधिक ५३ रन बनाए । अर्धसतक बनाएका इमरानले १९ बलमा ३ चौंका र ५ छक्का प्रहार गरे । फियाज अहमद (४८), जुनैद अजिज (३६), सोहेल अहमद (३४), कप्तान हैदर बट (३४) र शाहबाज बदरले (१६) रन बनाए । रिजवान बट १४ रनमा अविजित रहे ।
कुवेतका लागि बलिङमा सैयद मोनिबले सर्वाधिक ४ विकेट लिए । शाहरुख कुद्दुसले २ विकेट लिदा अदनान इद्रिसको नाममा १ विकेट रह्यो । २ सय ५६ रनको लक्ष्य पाएको कुवेतले अहिले ब्याटिङ गरिरहेको छ ।

टिप्पणी लेख्नुहोस्