लेख विवरण

एसिसी वुमन्स टि–२० इमर्जिङ टिम्स एसिया कप : बङलादेश 'ए' ले मलेसियालाई हरायो

एसिसी वुमन्स टि–२० इमर्जिङ टिम्स एसिया कप : बङलादेश 'ए' ले मलेसियालाई हरायो

काठमाडौंँ । हङकङ आजबाट सुरु भएको एसिसी वुमन्स टि–२० इमर्जिङ टिम्स एसिया कपमा बङलादेश 'ए' ले मलेसियालाई ९८ रनले पराजित गरेको छ । मोङकक मैदानमा बङलादेशले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाको टोलीले २० ओभरमा ८ विकेट गुमाएर ५० रन मात्र बनाउन सक्यो । मलेसियाका लागि आइना नजवाले अविजित ११ रन बनाउदा कप्तान मास एलिसाले १० रन बनाए । यी बाहेक टोलीका अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् । बङलादेशका लागि राबेया खानले २ विकेट लिदा मारुफा अख्तर, सन्जिदा अख्तर मेघला, नाहिदा अख्तर र सुल्ताना खातुनले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बङलादेश 'ए' ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । टोलीका लागि मुर्सिदा खातुनले ५७ रनको अविजित पारि खेलिन् । अर्धसतक बनाएकी खातुनले ४४ बलमा ७ चौंका प्रहार गर्दे ५७ रन बनाइन । अन्य खेलाडीहरुमा शोर्ना अख्तर (२०), शोभना मोस्तारी (१४), शती रानी (११) र रुबिया हैदरले (१०) रन बनाए । मलेसियाका लागि माहिरा इज्जती इस्माइल, ऐसिया इलिसा र नुर दानिया सुहादाले समान २–२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच बङलादेशकी मुर्सिदा खातुन भए ।

प्रतियोगिता अन्तर्गत भोलीको पहिलो खेलमा नेपाल र पाकिस्तान 'ए' तथा दोस्रो खेलमा भारत 'ए' र हङकङले प्रतिस्पर्धा गर्नेछन । नेपालको खेल नेपाली समय अनुसार बिहान ६ः४५ देखी सुरु हुनेछ ।

एशियन क्रिकेट काउन्सिलले आयोजना गरेको प्रतियोगितामा नेपाल, हङकङ, भारत 'ए', पाकिस्तान'ए', बङलादेश'ए', श्रीलंका'ए', युएई र मलेसियाको टोलीले सहभागिता जनाएका छन् । थाईल्यान्डले भिसाको कारण नाम फिर्ता लिएपछि नेपालले सहभागिता जनाउने अवसर पाएको हो ।

नियमित कप्तान रुबीना क्षेत्रीको नेतृत्वमा हङकङ पुगेको नेपाली टोलीमा सिता राना मगर, ईन्दु बर्मा, कबिता कुँवर, बिन्दु रावल, ज्योती पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासैनी, सरस्वती कुमारी चौधरी, अस्मिना कर्माचार्य, ईश्वरी बिष्ट, अप्सरी बेगम र कबिता जोशी रहेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.