लेख विवरण

एसीसी प्रिमियर कप : नेपालले ओमानलाई ८४ रनले हरायो

एसीसी प्रिमियर कप : नेपालले ओमानलाई ८४ रनले हरायो

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको छ । नेपालले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको ओमानले ४६ ओभर ३ बलमा ९ विकेट गुमाएर २ सय २६ रन मात्र बनायो । ओमानलाई रोक्न नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३–३ विकेट लिए । दिपेन्द्र सिंह ऐरिले २ विकेट लिदा ललित राजबंशीको नाममा १ विकेट रह्यो । ओमानका लागि मोहम्मद नदीमले सर्वाधिक ६५ रन बनाए । सन्दीप गौड (४६), कश्यप प्रजापति (२५), अयान खान (२९), फय्याज बट (१९), जतिन्द्र सिंह (१५) र अदिल शफिकले (१३) रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा विकेट ८ गुमाउदै ३ सय १० रन बनाएको थियो । टोलीले खेलको सुरुवातमै २ विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा एलबिडब्लुको शिकार भएका थिए । उनलाई बिलाल खानले आउट बनाए । अर्का ओपनर आशिफ शेख पनि ० रनमा कलीमुल्लाहको बलमा बोल्ड भएका थिए ।

त्यसपछि ब्याटिङ गर्न आएका कप्तान रोहित पौडेलले इनिङसलाई माथि उकास्ने प्रयास गरे । तर उनीपनि २३ रनको व्यक्तिगत स्कोरमा क्याच आउट भए । रोहित आउट हुँदा नेपालको स्कोर ५४ रनमा ३ विकेट रहेको थियो । रोहित पछि भिम सार्कि पनि २० औ ओभरमा स्टम्पिङ हुन पुगे । उनी ३३ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा आएका आरिफ शेख र कुशल मल्लले नेपालका लागि ७५ रनको साझेदारी गरे । आरिफ ३१ औं ओभरमा जतिन्द्र सिंहको पहिलो ओभरमै क्याच हुन पुगे । उनी २९ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा आएका पुर्व कप्तान दिपेन्द्र सिंह ऐरि आजको खेलमा जम्न सकेनन । उनी ७ रन बनाएर आउट भए । दिपेन्द्रपछि एकदिवसीय क्रिकेट करियरमा पहिलो सतक बनाएका कुशल मल्ल १ सय ८ रन बनाएर आउट भए । उनले ६४ बलमा ९ चौंका र १० छक्का प्रहार गरे ।

त्यसपछि क्रिजमा आएका अल राउनन्डर सोमपाल कामीले करण केसीसँग २८ बलमा ५० रनको साझेदारी गरे । सोमपालले अर्धसतक बनाउदै ६३ रनको अविजित पारी खेले । ४८ बलको सामना गर्ने क्रममा उनले ९ चौंका प्रहार गरे । करण केसी पनि १८ बलमा २९ रन बनाउदै अविजित रहे । उनले २१ चौंका र १ छक्का प्रहार गरे ।

ओमानको लागि बलिङमा अयान खानले २ विकेट लिए । बिलाल खान, कलीमुल्लाह, जिशान मकसूद, फय्याज बट, अकिब इलियास र जतिन्द्र सिंहले समान १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच कुशल मल्ल भए ।

काठमाडौंमा जारी प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । नेपालले अब तेस्रो खेल साउदी अरबियासँग सोमवार खेल्नेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.