ए डिभिजन लिग : चर्च ब्वाइज युनाइटेड विजयी
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको बुधवार भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लबले मछिन्द्र क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा पहिलो अग्रता पनि चर्च ब्वाइजले नै लियो । चर्च ब्वाइजका लागि अञ्जन विष्टले खेलको ४०औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिए ।
त्यस्तै खेलको ६६औँ मिनेटमा मछिन्द्रका खेलाडी ओमोलाजा करिमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ७१औँ मिनेटमा मछिन्द्रका खेलाडी प्रदीप भण्डारीले आत्मघाती गोल गरेपछि चर्च ब्वाइज २–१ गोलअन्तरले विजयी भयो ।
यस जितसहित चर्च ब्वाइज अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चर्च ब्वाइजले १६ खेलबाट ३० अङ्क जोडेको छ । पराजित मछिन्द्र २४ अङ्कसहित तालिकाको चौथो स्थानमा रहेको छ ।
यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधवार नै भएको अर्को खेलमा नेपाल एपिएफ फुटबल क्लबलले त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको छ । एपिएफको जितमा अर्मान्ड बेडम, आवास लामिछाने र कप्तान नवीन लामाले समान एक–एक गोल गरे ।
खेलको ४१औँ मिनेटमा अर्मान्डले गोल गर्दै एपिएफलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ५६औँ मिनेटमा आवासले गोल गरे भने खेलको ६२औँ मिनेटमा नवीनले गोल गर्दै आफनो टोलीको जित सुनिश्चित गरे । जितसँगै एपिएफले १६ खेलबाट २२ अङ्क जाड्दै अङ्क ताकिलाको छैटौँ स्थानमा उक्लेको छ । समान खेल खेलको आर्मी २१ अङ्क जोड्दै सातौँ स्थानमा रहेछ ।

टिप्पणी लेख्नुहोस्