ओपनिङ गर्न आएका कोहली लगातार सातौं पटक फ्लप
काठमाडौं । बंगलादेशविरुद्धको पहिलो एकदिवसीयमा असफल भएका विराट कोहली दोस्रो खेलमा पनि फ्लप भएका छन । उनी मात्र ५ रन बनाएर आउट भएका छन । कोहलीलाई बंगलादेशका बलर इबादत हुसेनले बोल्ड गरेका थिए । हुसैनको सर्ट बलमा विराटले पुल सट खेल्ने प्रयास गर्दा बल ब्याटको भित्री किनारमा लागेर स्टम्पमा गएको थियो । बंगलादेश बिरुद्धको दोस्रो एकदिवसीयमा उनी ओपनिङ गर्न आएका थिए ।
रोहित शर्माको घाइते भएपछि विराटलाई यो जिम्मेवारी दिइएको थियो । तर उनी असफल भए । कोहलीले चौका प्रहार गर्दै पारीको सुरुवात गरेपनि उनको खेल अर्को पाँच बलमा समाप्त भयो। ८ वर्षपछि ओपनिङ गर्न आएका कोहली ८ मिनेट पनि क्रिजमा टिक्न सकेनन् ।
कोहलीले एसिया कप र टी–२० विश्वकपमा रन बनाए पनि एकदिवसीयमा उनी लगातार सातौं पटक फ्लप भएका छन् । उनले पछिल्लो ७ ओडिआईमा १०.४२ को औसतमा ७३ रन बनाएका छन् । कोहलीले पछिल्लो कुनै पनि इनिङ्समा २० रन पनि बनाउन सकेका छैनन । पछिल्लो ७ ओडिआईमा उनले ५, ९, १७, १६, ०, १ र ८ रन बनाएका छन् ।

टिप्पणी लेख्नुहोस्