लेख विवरण

ओयन मोर्गनले क्रिकेटका सबै फर्म्याटबाट लिए सन्यास

ओयन मोर्गनले क्रिकेटका सबै फर्म्याटबाट लिए सन्यास

काठमाडौंँ । इंग्ल्याण्डका पूर्व कप्तान ओयन मोर्गनले क्रिकेटको सबै फर्म्याटबाट सन्यास लिएका छन् । सोमबार उनले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् । मोर्गनले कप्तानको रूपमा इंग्ल्याण्डलाई पहिलो एकदिवसीय विश्वकप जिताएका थिए। गत वर्ष जुनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका मोर्गनले हाल आएर फ्रेन्चाइजी क्रिकेटबाट पनि सन्यास लिएको बताएका छन् ।

मोर्गनले हालै दक्षिण अफ्रिका लिगमा आफ्नो अन्तिम खेल खेलेका थिए। लिगमा उनी पर्ल रोयल्स टोलीमा आबद्ध थिए। फेब्रुअरी ८ मा प्रिटोरिया रोयल्स विरुद्धको अन्तिम खेलमा मोर्गनले १३ बलमा १७ रन बनाएका थिए।

मोर्गन सीमित ओभरको क्रिकेट इतिहासमा इङ्ल्यान्डका अहिलेसम्मकै उत्कृष्ट कप्तान साबित भएका छन । उनको कप्तानीमा इङ्ल्यान्डले १९८ ओडीआई खेलेको थियो । जसमध्ये ११८ मा जित हात पारेको थियो । योसँगै उनले टी–२० क्रिकेटको ७२ खेलमा कप्तानी गर्दा ४२ मा टोलीलाई जित दिलाएका थिए ।

मोर्गनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘म गर्वका साथ सबै प्रकारका क्रिकेटबाट सन्यास लिइरहेको छु । धेरै विचार(विमर्श पछि, मलाई विश्वास छ कि यो खेलबाट टाढा जानको लागि सही समय हो जसले मलाई वर्षौंदेखि धेरैकुरा दियो। सन् २००५ मा इङ्ल्यान्ड गएदेखि मिडलसेक्समा सामेल भएसम्म, र दक्षिण अफ्रिका लिगमा पर्ल रोयल्सको लागि खेल्दा सम्म मैले हरेक कुराको आनन्द उठाएको छु।'

उनले भने, 'म क्रिकेटप्रति आभारी छु । यो खेलले मलाई संसार घुम्ने र विभिन्न व्यक्तिहरूसँग भेट्ने अवसर दिएको छ। मैले केही अद्भुत व्यक्तिहरूसँग जीवनभर मित्रता कायम गरें। विश्वभरका फ्रेन्चाइजी टिमबाट खेल्न पाए । यी सम्झनाहरु म संगै राख्नेछु । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि म आफ्ना नजिकका साथीभाइसँग समय बिताउन सक्ने छु । म क्रिकेटसँग जोडिएको साहसिक र चुनौतीलाई मिस गर्नेछु।'

मोर्गनले अन्त्यमा लेखे– ‘मैले क्रिकेटबाट सन्यास लिइरहेको भए पनि कमेन्टेटर र क्रिकेट पण्डितको रुपमा सधैं जोडिनेछु ।'

मोर्गनको जन्म आयरल्याण्डको राजधानी डब्लिनमा भएको थियो। उनी आयरिश हुन। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु आयरल्याण्डको राष्ट्रिय टोलीबाट गरेका थिए। उनले अन्तर्राष्ट्रिय डेब्यु खेल सन् २००६ अगस्त ५ मा स्कटल्याण्ड विरुद्ध खेलेका थियो। जसमा मोर्गनले ९९ रनको इनिङ खेलेका थिए ।

मोर्गन सीमित ओभरको क्रिकेटमा सफल हुन सकेनन् । उनले सन् २०१० मा बंगलादेशविरुद्ध इङ्ल्यान्डका लागि टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए। टेस्टमा उनले १६ खेल खेलेर ७ सय रन बनाएका छन् । सन् २०१२ दुबईमा पाकिस्तानविरुद्धको खेल उनको अन्तिम टेस्ट रहेको थियो ।

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.