कतारलाई हराउदै नकआउट चरण पुग्ने दाउमा नेदरल्यान्ड्स
काठमाडौं । फिफा विश्वकप २०२२ मा आज कतार र नेदरल्याण्ड्स भिडदै छन । नकआउट चरण पुग्ने दाउमा रहेको नेदरल्यान्ड्सले समूह ए को अन्तिम खेलमा कतारसँग बलियो दावेदारका रूपमा खेल्दैछ ।
आजको खेलमा नेदरल्यान्ड्सलाई अर्को चरणमा पुर्याउन प्रोस्टेट क्यान्सरको उपचार गराएर एक वर्षअघि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका ७१ वर्षीय प्रशिक्षक लुइस भान गालले महत्वपूर्ण भूमिका खेल्नेछन्। आयोजक राष्ट्र कतारले सुरुवाती दुई खेलमा हार बेहोरेपछि समूह चरणबाटै अगाडि बढ्ने मौका गुमाइसकेको छ ।
नेदरल्याण्ड्सले अघिल्लो चरणमा पुग्न आजको खेलमा बराबरी गरे नै पर्याप्त हुनेछ। चार वर्षअघि छनोट हुन असफल भएको यो टोलीलाई पुनः उपाधिको दावेदारको रुपमा हेरिएको छ । समूह ‘ए’ को दोस्रो खेलमा इक्वेडरले सेनेगललाई हराएमा नेदरल्यान्ड्सले कतारसँगको पराजयपछि पनि नकआउटमा स्थान बनाउने छ ।
प्रि-क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले समूह बी का शीर्ष दुई टोलीमध्ये एकको सामना गर्नेछ । समूह बी मा इङ्ल्यान्ड शिर्ष स्थानमा रहेको छ । यता इरान, वेल्स र अमेरिका समूह बी को दोस्रो स्थानका लागि भिड्दैछन्।
फिफा विश्वकप अघि नेदरल्यान्ड्सका प्रशिक्षक भान गालले आफ्नो टोलीले उपाधि जित्न सक्ने बताएका थिए । तर कमैले यो टोलीलाई उत्कृष्ट मध्ये एकको रूपमा हेरेका छन्।
फिफा विश्वकपको नजिक पुगेर उपाधि जित्नै मौका गुमाउने टोलीमा नेदरल्यान्ड्सले अग्र स्थानमा छ । टोली तीन पटक उपविजेता हो । सन् १९७४ मा पश्चिम जर्मनी, १९७८ मा अर्जेन्टिना र २०१० को फाइनलमा स्पेनसँग नेदरल्यान्ड्स पराजित भएको थियो । सन् २०१४ ब्राजिल विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनासँग शुटआउटमा पराजित भएर नेदरल्यान्ड्स तेस्रो भएको थियो ।

टिप्पणी लेख्नुहोस्