कराँची टेस्ट : न्युजिल्यान्डको पहिलो इनिङ्समा बनायो ४४९ रन
काठमाडौं । कराँची टेस्टको दोस्रो दिन पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा तीन विकेट गुमाएर १५४ रन बनाएको छ । दिनको खेल समाप्त हुँदा ओपनर इमाम उल हकले ७४ र साउद शकील १३ रनमा अविजित छन । टोली न्यूजिल्याण्डको स्कोरभन्दा अझै २९५ रनले पछाडि छ ।
यसअघि पहिलो इनिङ्समा न्युजिल्यान्ड ४४९ रनमा अलआउट भएको थियो । पाहुना टोलीले दोस्रो दिनको खेल ३०९/६ को स्कोरमा सुरु गरेको थियो । न्यूजिल्याण्डका म्याट हेनरी र एजाज पटेलले १० औं विकेटका लागि १०४ रनको साझेदारी गर्दै टोलीको स्कोर ४५० रनको नजिक पुर्याएका थिए ।
पाकिस्तानका लागि अबरार अहमदले सर्वाधिक ४ विकेट लिए । नसिम शाह र आगा सलमानले ३–३ विकेट लिए । २ टेस्ट खेलको सिरिज ०-० को बराबरीमा छ। सिरिजको पहिलो खेल बराबरीमा सकिएको थियो ।
पहिलो दिनको खेलमा अविजित रहेका टम ब्लन्डेल ५१ रन बनाएर आउट भए । त्यसपछि ईश सोधी ११ र टिम साउथी १० रन बनाएर प्याभिलियन फर्किए । अन्त्यमा फास्ट बलर म्याट हेनरी (६८) र एजाज पटेल (३५) ले १०औं विकेटका लागि १४९ बलमा १०४ रनको साझेदारी गरे । हेनरीले आफ्नो इनिङ्समा ८ चौका र २ छक्का प्रहार गरे ।
टेष्ट क्रिकेटमा अहिलेसम्म १० औं विकेटका लागि २७ पटक १०० रनको साझेदारी भइसकेको छ । हेनरी र पटेलको साझेदारी सबैभन्दा धेरै रन बनाउने हिसाबले २५ औं स्थानमा छ। इंग्ल्याण्डका जो रुट र जेम्स एन्डरसनको साझेदारी पहिलो नम्बरमा छ । दुवैले भारतविरुद्ध १० औं विकेटका लागि १९८ रनको साझेदारी गरेका थिए।
पाकिस्तानका ओपनर अब्दुल्लाह शफिक १९ र शान मसुद २० रन बनाएर आउट भए । कप्तान बाबर आजम २४ रन बनाएर रनआउट भए । इमाम उल हक र साउद शकील अविजित छन् । दोस्रो दिनको खेलमा न्युजिल्यान्डका म्याट हेनरी र एजाज पटेलले १–१ विकेट लिए ।
यसअघि पहिलो दिनको खेलमा न्युजिल्यान्डका कप्तान टिम साउथीले टस जितेर ब्याटिङ रोजेका थिए । ओपनर टम लाथम (७१) र डेभोन कोनवे (१२२)ले पहिलो विकेटका लागि १३४ रन जोडे। यसबाहेक विलियम्सन ३६, हेनरी निकोल्स २६, डेरिल मिचेल ३ र माइकल ब्रेसवेल शून्य रन बनाएर आउट भए । टोलीले स्टम्पसम्म ६ विकेट गुमाएर ३०९ रन बनाएको थियो ।

टिप्पणी लेख्नुहोस्