कराची टेस्टको पहिलो दिन पाकिस्तान ३०४ रनमा अलआउट
काठमाडौं । पाकिस्तान र इंग्ल्याण्डबीचको तीन टेस्टको सिरिजको अन्तिम खेल कराँचीको नेसनल स्टेडियममा जारी छ । सिरिजमा २–० ले पछि परेको पाकिस्तानले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । घरेलु टोली ७९ ओभरमा ३०४ रन बनाउदै अलआउट भएको छ । पहिलो दिनको खेल सकिँदासम्म इंग्ल्यान्डले आफ्नो इनिङसुरु गरेको छ । पाहुना टोलीले ७ रनको स्कोरमा एक विकेट गुमाएको छ । इंग्ल्यान्डका ओपनर बेन डकेट र ओली पोप अविजित छन् ।
पाकिस्तानका कप्तान बाबर आजमले २०२२ मा पहिलो इनिङ्समा १६औँ अर्धशतक बनाएका छन। उनले टोलीका लागि सर्वाधिक ७८ रनको योगदान दिए । पाकिस्तानको पुरै टोली ७९ ओभरमा ३०४ रनमा अलआउट भयो । इंग्ल्याण्डका ज्याक लिचले ४ विकेट लिए । ३ बलरले १–१ विकेट लिए । पहिलो टेस्ट खेलेका १८ वर्षीय रेहान अहमदले २ विकेट लिए ।
इंग्ल्याण्डले पनि पहिलो दिन नै आफ्नो पहिलो इनिङ्स सुरु गरेको छ । दिनको खेल सकिदा टोलीले ३ ओभरमा एक विकेट गुमाउदै ७ रन बनाएको छ । पाहुना टोलीका ओपनर ज्याक क्राउली ५ बल खेल्दै अबरार अहमदको शिकार बने । एलबीडब्ल्यू हुनुअघि क्राउलीले खाता पनि खोल्न सकेनन् । ओपनर बेन डकेट ४ रन र ओली पोप ३ रनमा अविजित छन् ।
पहिलो इनिङ्समा पाकिस्तानका लागि बाबर आजम र सलमान आगा बाहेक अन्य खेलाडीले अर्धसतक बनाउन सकेनन् । बाबरले ७८ र सलमानले ५६ रन बनाए । आफ्नो अन्तिम टेस्ट खेलिरहेका अजहर अली ६८ बलमा ४५ रन बनाएर आउट भए । ओपनर शान मसुदले ३७ बलमा ३० रन बनाए ।
साउद शकील २३, नौमान अली २० र विकेटकिपर मोहम्मद रिजवान १९ रन बनाएर आउट भए । ओपनर अब्दुल्लाह शफिकले ८ र अबरार अहमदले ४ रन बनाए । मोहम्मद वासिम जुनियर ८ रनमा अविजित रहे ।
इंग्ल्याण्डका बलरले टोलीलाई राम्रो सुरुवात गराए । ज्याक लिचले इनिङ्सको छैटौं ओभरमा शफिकलाई एलबीडब्ल्यू गरे । १३ औं ओभरमा मार्क वुडले मसुदलाई लिचको हातमा क्याच आउट गराए। २६औं ओभरमा रोबिन्सनले अजहर अलीलाई विकेटकिपर फक्सको हातबाट क्याच आउट गराए।
४९ औं ओभरमा जो रुटले रिजवानलाई कप्तान बेन स्टोक्सको हातबाट क्याच आउट गराए । पाकिस्तानका लागि ज्याक लिचले अन्तिम ३ विकेट लिने क्रममा सलमान, नौमान अली र अबरार अहमदलाई प्याभिलियन पठाए ।
४२औं ओभरको अन्तिम बलमा इंग्ल्याण्डकाका लागि डेब्यु गरेका १८ वर्षीय रेहान अहमदले आफ्नो टेस्ट करियरको पहिलो विकेट लिए । ओभरको पाँचौं बलमा उनले बायाँ हाते ब्याट्सम्यान साउद शकीललाई आफ्नो गुगलीको शिकार बनाए । रेहानले फहिम अशरफलाई एलबीडब्ल्यू धरापमा पार्दै आफ्नो दोस्रो विकेट लिए।
पाकिस्तानका पूर्व कप्तान अजहर अली आफ्नो करियरको अन्तिम क्रिकेट खेल्दै छन् । उनले तेस्रो टेस्ट अघि नै क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । पाकिस्तानका लागि ९७ टेस्टमा अजहरले ४२.५१ को औसतमा ७ हजार १ सय ४२ रन बनाएका छन् । जसमा १९ शतक र ३५ अर्धशतक रहेको छ । यस अवधिमा वेस्ट इन्डिजविरुद्ध ३०२ रनको नटआउट इनिङ्स उनको करियरकै उत्कृष्ट पारी थियो।
अजहरले पाकिस्तानका लागि ५३ ओडीआई खेलेका छन् । जसमा उनले ३६.९० को औसतमा १ हजार ८ सय ४५ रन बनाएका छन । यस क्रममा उनको ब्याटबाट ३ शतक र १२ अर्धशतक निस्केका छ । उनले पाकिस्तानका लागि टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गर्न सकेनन् ।

टिप्पणी लेख्नुहोस्