लेख विवरण

काठमाडौँ गोर्खाज नेपाल टी२० लिगबाट बाहिरियो

काठमाडौँ गोर्खाज नेपाल टी२० लिगबाट बाहिरियो

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने भनिएको नेपाल टी२० लिगबाट फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाज बाहिरिएको छ।

कान्तिपुर मिडिया ग्रुपको सामित्त्वमा रहेको काठमाडौँले नाम फिर्ता लिएको क्यानले जनाएको हो।

प्रतियोगिता मंसिर २६ देखि पुष १६ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय छ। तर, नेपाल टी२० लिग शुरू हुन दुई साता बाँकी रहँदा काठमाडौँले नाम फिर्ता लिएको हो।

क्यानका कार्यवाहक सचिव तथा नेपाल टी२० लिगका गर्भनिङ काउन्सिलका अध्यक्ष प्रशान्तविक्रम मल्लले काठमाडौँको स्थानमा अर्को टोली ल्याउने तयारी भइरहेको बताए।

‘‘हामीले सबै तयारी गरिसकेका छौँ। तर, काठमाडौँ आधिकारीक रूपमै बाहिरिएको छ। काठमाडौँको ठाउँमा अर्को फ्रेन्चाइज ल्याउने तयारी गरिरहेका छौँ। त्यसैले प्रतियोगिता एक हप्तापछि सर्न सक्छ’’, मल्लले भने ।

उनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई प्रतियोगिता सार्न मेल पठाउने तयारी भइरहेको पनि बताए। ‘‘हाम्रो प्रयास तोकिएकै मितिमा प्रतियोगिता गर्ने थियो। अब अर्को टोली ल्याउन केही समय लाग्ला। समय लाग्यो भने आईसीसीबाट एक हप्ता समय थप्छौँ’’, उनले भने ।

नेपाल टी२० लिगमा काठमाडौँ गोर्खाज, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अलस्टार्स र फार वेस्टर्न युनाइटेडले प्रतिस्पर्धा गर्ने तय थियो। यीमध्ये कान्तिपुर र पोखरा मात्रै नेपाली मालिकको सावित्त्वमा भएका फ्रेन्चाइज टोली हुन्।

यसअघि गत असोजमा हुने भनिएपनि नेपाल टी२० लिग निर्वाचन सुरक्षाको कारण देखाउँदै सरेको थियो। काठमाडौँले विदेशी खेलाडीका रूपमा श्रीलंकाका थिसरा परेरा, कामिन्दु मेन्डिस, धनन्जय डी सिल्भा, दर्शनप्रिय विराकोडीलाई अनुबन्ध गरेको थियो। यता, मलेसियाका विरनदीप सिंह पनि काठमाडौँबाट खेल्ने जनाइएको थियो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.