कान्तिपुर हाफ म्याराथनको एघारौं संस्करणको घोषणा
काठमाडौं । कान्तिपुर पब्लिकेसन प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको ‘कान्तिपुर हाफ म्याराथन’ को एघारौं संस्करणको घोषणा गरेको छ ।
बुधवार पत्रकार सम्मेलन गर्दै आयोजक कान्तिपुर पब्लिकेसनले आगामी जेठ छ गते ‘कान्तिपुर हाफ म्याराथन’ आयोजना गर्ने जानकारी दिएको हो ।
नेपाली एथलेटिक्सकै प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको एघारौं संस्करणको कान्तिपुर हाफ म्याराथनमा पहिलो पटक कलेज रनलाई पनि समावेश गरिएको छ । जसमा ७ किलोमिटरको दौड हुनेछ र यो म्याराथनमा १८ वर्ष माथिका विद्यार्थीले सहभागी हुन पाउने छन् ।
त्यो बाहेक हाफ म्याराथन २१ किमी, कर्पोरेट (५ किमी) र ह्विलचियर गरी तीन विधामा महिला तथा पुरुष खेलाडीको बीचमा प्रतिस्पर्धा हुनेछ ।
आयोजकले यो वषको नारा ’लेस्ट गो ग्रिन टुगेदर’ राखेको छ ।
थापाथलीस्थित कान्तिपुर कार्यालय,सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी हुँदै कोटेश्वर, तीनकुने, बानेश्वर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर समापन हुनेछ ।
हाफ म्याराथन विजेता पुरुष र महिला दुवैले जनही १ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले बताएको छ ।
त्यस्तै, दोस्रो हुनेले विजेताले ५० हजार, तेसो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौ हुनेले १० हजार र छैटौं हुनेले ५ हजार पुरस्कार पाउने छन् ।
शारीरिक रुपमा फरक क्षमता हुने ह्विलचियर तर्फ पहिलो देखि तेस्रो स्थान विजेताले क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार पाउने छन् ।
यस्तै,कलेज रनतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई केएफसीले फुड गिफ्ट भौंचर र कर्पोरेटतर्फको म्याराथन विजेतालाई ह्याम्स हस्पिटलको तर्फबाट गिफ्ट पाउने छन् ।
सबै विधामा गरि म्याराथनमा ३ हजारभन्दा बढी प्रतिस्पर्धीले सहभागिता जनाउने आयोजकले अपेक्षा गरेको छ ।
खेलमा सहभागितका लागि बैशाख २२ गतेबाट जेठ १ गतेसम्मको समयमा फारम भर्न समय तोकिएको छ ।
म्याराथनमा विजेता पुरुष र महिला दुवै टोलीका प्रथम हुने सदस्यलाई यो वर्ष मुख्य प्रायोजक गरेको ग्लोवल आइएमई बैंकले उचित पुरस्कारको व्यवस्था गरेको बैंङ्का सिइओ सुरेन्द्रराज रेग्मीले बताए । उनले यस्ता आयोजनाहरु काठमाडौंमा मात्रै केन्द्रीत नभएर बाहीर पनि हुनुपर्ने धारणा राखे ।

टिप्पणी लेख्नुहोस्