लेख विवरण

कुस्तीमा भारतीय पहलवानहरुको वर्चस्व

कुस्तीमा भारतीय पहलवानहरुको वर्चस्व

भैरहवा । तराई क्षेत्रमा लोकप्रिय रहेको कुस्ती खेलप्रति अहिले चासो बढ्दै गएको छ । जिल्लाका विभिन्न क्षेत्रमा कुस्ती प्रतियोगिताहरु आयोजना हुन थालेपछि यस क्षेत्रमा पनि रहरलाग्दो पहलवानहरु देखापर्न थालेका छन् । रुपन्देहीको ग्रामीण क्षेत्रबाट पहलवानहरु उत्पादन गर्ने उद्देश्यका साथ रोहिणी गाउँपालिकाद्वारा आयोजित खुल्ला कुस्ती प्रतियोगितामा भारतीय पहलवानहरुले वर्चस्व जमाएका छन् ।

रु एक लाख एक हजार एक सय ११ रहेको प्रथम स्थान भारत दिल्लीका विनोद पहलवानले जितेका छन । उनले भारतकै पठानकोटका बब्बी पहलवानलाई पछार्दै प्रथम भएका हुन । यस्तै भारत गोरखपुरका जितेन्द्र पहलवान दोस्रो भएका छन । दोस्रो हुँदै उनले रु ५१ हजार एक सय ११ हात पारे । जितेन्द्रले भारत हरियाणाका भीम पहलवानलाई पराजित गरेका थिए । प्रतियोगिताको तेस्रो पनि भारतकै हरियाणाका मुन्ना पहलवान भएका छन । रु २५ हजार एक सय ११ राशिको तेस्रो पुरस्कारका लागि उनले हरियाणाकै गोपी पहलवानलाई पराजित गरे । प्रतियोगितामा भारत पनियराका गुड्डु पहलवानले सान्त्वना स्थान हासिल गरे । यससँगै उनले रु १५ हजार एक सय ११ जिते ।

प्रतियोगितामा नेपालका विभिन्न स्थानका पहलवानहरुको सहभागिता रहेको रोहिणी गाउँपालिकाका राजकुमार मिश्रले जानकारी दिए । मधेस प्रदेशसहित लुम्बिनी प्रदेशकै नामी पहलवानहरु रहे पनि तुलनात्मक रुपमा बलियो रहेका भारतीय पहलवानहरुले प्रतियोगितामा वर्चस्व देखाएका हुन् ।

रोहिणी गाउँपालिकाको आयोजनामा सम्पन्न प्रतियोगिता विशेषगरी दक्षिण र नेपालको तराई–मधेस भेगमा निकै प्रचलित रहेको कुस्ती खेल बदलिँदो परिवेशमा ओझेल परेकाले यसको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।

कुस्ती प्रतियोगितामा स्थानीय पहलवानहरु उत्पादन गर्ने उद्देश्य रहेको उनले बताए । “कुस्तीमा शारीरिक बल र स्फूर्तिको प्रयोग मात्र नभई बुद्धि र चातुर्यताका साथ चलाखीपूर्ण रुपमा खेलिने हुँदा यसको थप महत्वप्रति हाम्रो थप ध्यानाकृष्ट भएको छ”, यादवले भने, “रोहिणीमा यस खेलको विकास गर्न र युवा खेलाडीहरुलाई थप प्रेरित गर्न कुस्ती प्रतियोगिताको आयोजना गरेका हौँ ।”

अध्यक्ष यादवले युवालाई कुलतबाट जोगाउन तथा शारीरिक रुपमा बलियो बनाउन कुस्ती महत्वपूर्ण रहेको हुँदा यसलाई आगामी दिनमा समेत निरन्तर रुपमा आयोजना गर्दै लैजाने बताए । उनले यस वर्ष पालिकाले रु पाँच लाख बजेट नै विनियोजन गरी सोहीबाट प्रतियोगिता सम्पन्न गरेको जानकारी दिए । खेलाडीहरुको उत्साह र अपेक्षालाई स्थान दिँदै खेलकुदका अन्य विधाहरुलाई पनि सम्बोधन गर्न गाउँपालिकाले यस वर्षदेखि कुस्ती प्रतियोगिताको आयोजना गरेको रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताए ।

गाउँपालिकाले युवालाई खेल क्षेत्रमा अधिकतम सहभागी गराउन विभिन्न कार्यक्रम सञ्चालन गरेको र यस वर्ष तराई–मधेसमा लोकप्रिय कुस्ती खेलको आयोजना गरिएको उनले बताए । दुई दिनसम्म चलेको प्रतियोगितामा भारत र नेपालका गरी ५० भन्दा बढी पहलवानहरुले सहभागिता जनाएका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.