कोरोना परीक्षण नेगेटिभ आएपछि क्वारेन्टाइनबाट बाहिरिए रोहित
काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका भारतीय कप्तान रोहित शर्माको कोभिड–१९ परीक्षण नेगेटिभ आएको छ । उनी अहिले क्वारेन्टाइनबाट बाहिरिएका छन् । रोहित जुलाई ७ देखि सुरु हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि उपलब्ध हुनेछन् । लेस्टरशायर विरुद्ध अभ्यास खेलको क्रममा ३५ वर्षीय रोहितमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
बीसीसीआईका एक वरिष्ठ अधिकारीले भने, ‘हो, रोहितको रिपोर्ट नेगेटिभ आएको छ । उनी अहिले मेडिकल प्रोटोकल अनुसार क्वारेन्टाइनबाट बाहिर छन् । उनी नर्थह्याम्प्टनशायरविरुद्धको टी–२० अभ्यास खेलमा सहभागी नहुने भएकाले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलअघि आराम र अभ्यास आवश्यक छ ।
मेडिकल प्रोटोकल अनुसार कोभिड–१९ क्वारेन्टाइनबाट बाहिर आएका कुनै पनि खेलाडीले फोक्सोको क्षमता जाँच गर्न अनिवार्य मुटुको परीक्षण गराउनुपर्ने हुन्छ । रोहितलाई इंग्ल्याण्ड विरुद्धको जारी टेस्टमा खेलाउन भारतीय टोली आतुर थियो तर खेल सुरु हुनुअघि उनलाई तीन पटक कोभिड–१९ पोजेटिभ देखिएको थियो । जसकारण भारतीय टोली जसप्रित बुमराहको नेतृत्वमा मैदान उत्रनु परेको थियो ।
क्वारेन्टाइनबाट बाहिर आएका रोहितले नेटमा ब्याटिङ गरेका छन । भारतीय टोलीले बर्मिङ्घमको एजब्यास्टन मैदानमा इङ्ल्यान्डसँग टेष्ट खेलिरहेको समयमा रोहित शर्माले त्यही मैदानको नेटमा अभ्यास गरेका थिए । भारत र इंग्ल्याण्डबीच जुलाई ७ बाट टी–२० सिरिज हुँदैछ । रोहित शर्माको नेतृत्वमा भारतीय टोलीले टी–२० सिरिज खेल्नेछ ।

टिप्पणी लेख्नुहोस्