क्यान्सरसँग एक्लै लड्दै यी फुटबल प्रशिक्षक
काठमाडौं । नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक लुइस भान गालले आफू प्रोस्टेट क्यान्सरको उपचार गराइरहेको तर नोभेम्बरमा कतारमा हुने विश्वकपका लागि टोलीको नेतृत्व गर्न चाहेको खुलासा गरेका छन् । आइतवार राति एक टिभी कार्यक्रमको दौरान उनले आफु गम्भीर रोगसँग लडिरहेको र उनका खेलाडीहरूलाई यो कुरा थाहा नभएको बताएका छन । साथै उनले चार प्रशिक्षण शिविरको क्रममा राति उपचार गराएको बताएका छन ।
उनले भने, 'आफुसँग काम गर्ने मानिसहरुलाई यस प्रकारको रोगको बारेमा बताउन हुदैन किनभने यसबाट उनीहरुले हामीसँग गर्ने ब्यवहारमा फरक पर्न जान्छ र उनीहरूको जोश जाँगरमा पनि कमी आउछ, मलाई लाग्यो कि उनीहरूलाई यो कुरा थाहा हुँदैन।' गालले अहिलेसम्म २५ पटक रेडिएशन थेरापी गरिसकेको बताए ।
७० वर्षीय प्रशिक्षकले भने, 'म प्रायः साँझ वा रातको समयमा अस्पताल जान्छु जसकारण खेलाडीहरुलाई थाहा हुदैन ।' भान गालको पहिलो पत्नीको क्यान्सरको कारण मृत्यु भएको थियो।
करिब चार दशक लामो आफ्नो कोचिङ करियरमा भान गालले बार्सिलोना, आयाक्स, बायर्न म्युनिख र एजेड अल्कमारसँग लिग उपाधि जितेका थिए । उनले सन् १९९५ मा आयाक्ससँग च्याम्पियन्स लिग जितेका थिए । युनाइटेडमा दुई सिजन बिताएका उनले सन २०१६ मा एफए कपका लागि क्लबको नेतृत्व गरेका थिए।

टिप्पणी लेख्नुहोस्