लेख विवरण

क्याम प्रिमियर लिगमा लुम्बिनी क्रिकेट, कंगारु क्रिकेट, हाम्रो युथ र तराई टाइगर विजयी

क्याम प्रिमियर लिगमा लुम्बिनी क्रिकेट, कंगारु क्रिकेट, हाम्रो युथ र तराई टाइगर विजयी

सिडनी । क्याम युथ एसोसिएनको आयोजनामा अष्ट्रेलियामा जारी क्याम प्रिमियर लिगमा लुम्बिनी क्रिकेट क्लब, कंगारु क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब र तराई टाइगर स्पोर्ट्स क्लब विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आइतवार (आज) भएको पहिलो खेलमा लुम्बिनी क्रिकेट क्लबले एई ग्लोबल क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्यो ।

एभर्ली पार्कमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । टोलीका लागि ओपनर साहिल खानले २८ बलमा ३८ रनको योगदान दिए । उनले समान ३ चौंका र छक्का प्रहार गरे । संजय बस्नेतले पनि २९ बलमा ३० रनको अविजित पारी खेले । कप्तान सरोज पाठक (२१) र मुकेश रेग्मीले (११) रन बनाए । एई ग्लोबलका कप्तान बिबेक देवकोटा, भुवन खत्री र बिजय जिसीले २–२ विकेट लिए । शिशिर पाण्डे र अनुराग खेरवारले समान १–१ विकेट लिए ।

लुम्बिनीले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको एई ग्लोबलको टोली १८.४ ओभरमा १ सय १ रन बनाउदै अलआउट भयो । टोलीका लागि सफरोज अहमद (३२) र प्रवीण बस्नेतले (१२) रन बनाउन बाहेक अन्य खेलाडीरुले दोहरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीको जितमा हेमन्त आचार्यले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । बिकाश खरेलले पनि ४ ओभरमा १६ रन खर्चेर ३ विकेट नै लिए । सुजन कार्की र उत्सव ओझाले समान १–१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच लुम्बिनीका हेमन्त आचार्य भए ।

आजै भएको दोस्रो खेलमा कंगारु क्रिकेट क्लबले सिम्रिक ब्वाइज क्रिकेट क्लबलाई सुपर ओभरमा पराजित गर्यो । सिम्रिक ब्वाइजले दिएको १ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा कंगारु क्रिकेटले २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो र खेल बराबरीमा सकियो । त्यसपछि भएको सुपर ओभरमा कंगारु क्रिकेटले जित हात पार्यो ।

त्यअघि टस हारेर ब्याटिङ गरेको सिम्रिक ब्वाइजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । टोलीका लागि ओपनर किरण बस्यालले सर्वाधिक ३३ रन बनाए । आकाश पाठक (१९), कप्तान साहिल गुलाटी (१८) र सरोज थापाले (१०) रन बनाए । निश्चल योगी (१८) र रितिक साह (८) रनमा अविजित रहे । कंगारुका शिवजंग केसी, कप्तान अमित शर्मा, शिशिर जठार, सुशील श्रेष्ठ र अनिशबाबु जैसवालले समान १–१ विकेट लिए ।

सिम्रिक ब्वाइजले दिएको १ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा कंगारु क्रिकेटले २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो । टोलीका लागि ओपनर शैलेश हमालले ६८ रनको अविजित पारी खेले । अर्धसतक बनाएका हमालले ५४ बलको सामना गर्ने क्रममा ५ चौंका र २ छक्का प्रहार गरे । शिशिर जठार (१४) र अनिशबाबु जैसवालले (११) रन बनाए । सिम्रिक ब्वाइजका अकाश पाठकले ४ ओभरमा १४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । किरण बस्यालले २ विकेट लिदा रितिक साह र साहिल गुलाटीको नाममा समान १–१ विकेट रह्यो । खेलको प्लेयर अफ द म्याच कंगारुका शैलेश हमाल भए ।

आजै भएको तेस्रो खेलमा हाम्रो युथ क्रिकेट क्लबले बाउन्ड्रीलाइन क्रिकेट क्लबलाई १ सय १४ रनको विशाल अन्तरले पराजित गर्यो । टस हारेर ब्याटिङ गरेको हाम्रो युथले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय १४ रन विशाल योगफल बनाएको थियो । टोलीका लागि साहिल थापाले बिस्फोटक ब्याटिङ गर्दै ९७ रनको अविजित पारी खेले । अर्धसतक बनाएका थापाले ४८ बलको सामना गर्ने क्रममा ४ चौंका र ९ छक्का प्रहार गरे । उनी सतक बनाउनबाट मात्र ३ रनले चुके । त्यस्तै हाम्रो युथका लागि कप्तान निश्चल बिष्टले पनि अर्धसतकीय पारी खेले । उनले ३१ बलमा ६५ रन बनाए । उनको ब्याटबाट ८ चौंका र ३ छक्का प्रहार भएको थियो । बाउन्ड्रीलाइनका लागि बिबेक कडेल र बिशाल पोखरेलले समान ३–३ विकेट लिए । बबि बोहरा र नितिन गिरीले १–१ विकेट लिए ।

हाम्रो युथले दिएको २ सय १५ रनको लक्ष्य पछ्याउने क्रममा बाउन्ड्रीलाइनको टोली १६.२ ओभरमा १ सय रन बनाउदै अलआउट भयो । टोलीका लागि कप्तान ज्ञानु भट्ट (२५), राजु न्यौपाने (२७), सरोज पाण्डे (१५) र बिबेक कडेलले (११) रन बनाए । बाउन्ड्रीलाइनलाई कम स्कोरमा रोक्न हाम्रो युथका आदम राईले ४ ओभरमा २३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । रिजन थापाले पनि ४ ओभरमा १६ खर्चेर ३ विकेट लिए । साहिल थापाले २ विकेट लिदा साहिल पंगेनीको नाममा १ विकेट रह्यो । खेलको प्लेयर अफ द म्याच हाम्रो युथका साहिल थापा भए ।

आज भएको चौंथो खेलमा तराई टाइगर स्पोर्ट्स क्लबले द रोयल खुकुरी क्रिकेटलाई ६८ रनले पराजित गर्यो । ब्रेसिंगटन पार्कमा टस जितेर ब्याटिङ गरेको तराई टाइगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन बनायो । टोलीका लागि ओपनर मदन लामा तामाङले २७ बलमा ४४ रन बनाए । बिस्फोटिङ ब्याटिङ गरेका लामाले २ चौंका र ४ छक्का प्रहार गरे । मायानन्द चौधरी थारुले पनि रन आउट हुनुअघि २३ बलमा ३४ रन बनाए । उनले ४ चौंका र १ छक्का प्रहार गरे । अमन सिंह (१७), कप्तान सुरज बरियात (१२) र पेम्बा लामा बालपाले (१०) रन बनाए । आरुश शर्मा (११) र सुमित श्रेष्ठ (४) रनमा अविजित रहे । द रोयल खुकुरीका कप्तान पियुष गौतमले ३ विकेट लिए । सुविज्ञान भट्टले २ विकेट लिदा सुलभ राउत र माधव प्रसाईले समान १–१ विकेट लिए ।

तराई टाइगरले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा द रोयल खुकुरीको टोली १५.२ ओभरमा ९५ रनमै रोकियो । टोलीका लागि प्रज्वल ढकाल (३०), असिम रेग्मी (१९) र शुभम क्षेत्रीले (१२) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । द रोयल खुकुरीलाई ९५ रनमा रोक्न तराई टाइगरका बिकेश जोशीले ३ ओभरमा १३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अमन सिंहले २ विकेट लिदा पेम्बा लामा बालपा, आरुश शर्मा र मदन लामा तामाङले समान १–१ विकेट लिए ।

क्याम युथ एसोसिएनको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले उपाधिसहित ६ हजार र दोस्रो हुने टोलीले २ हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछ । प्लेयर अफ द सिरिजले ५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । ‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ सुरुवात भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा क्याम युथ क्रिकेट क्लब, लुम्बिनी क्रिकेट क्लब, तराई टाइगर्स स्पोर्ट्स क्लब, बुद्धभूमि क्रिकेट क्लब, वेस्ट युनाइटेड क्रिकेट क्लब, जीएनआर क्रिकेट क्लब, एई ग्लोबल क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबको सहभागिता रहेको छ ।

त्यस्तै बाउन्ड्री लाइन क्रिकेट क्लब, द कंगारु क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब, सिम्रिक बोइज क्रिकेट क्लब, द नेक्स्ट राइजिंग क्रिकेट क्लब, अम्दाबलम ब्लेजर्स क्रिकेट क्लब, एक्स्ट्राटेच क्रिकेट क्लबले प्रतियोगितामा सहभागिता जनाएका छन ।

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.