क्याम युथ, अमडाब्लम ब्लेजर, वेस्ट युनाइटेड, तराई टाइगर र एक्स्ट्राटेक क्रिकेट क्लब विजयी
सिडनी । क्याम युथ एसोसिएनको आयोजनामा अष्ट्रेलियामा जारी क्याम प्रिमियर लिगमा क्याम युथ क्रिकेट क्लब, अमडाब्लम ब्लेजर, वेस्ट युनाइटेड क्रिकेट क्लब, तराई टाइगर स्पोर्ट्स क्लब र एक्स्ट्राटेक क्रिकेट क्लब विजयी भएका छन ।
एभर्ली पार्कमा आज भएको पहिलो खेलमा आयोजक क्याम युथ क्रिकेट क्लबले नेक्स्ट राइजिङ क्रिकेट क्लबलाई ५ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको क्याम युथले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन बनायो । टोलीका लागि विजय डीले सर्वाधिक ४८ रनको योगदान दिए । सुरशे घिमिरे (१७), सुरज रावल (१५) र रोशन कुँवरले (१२) रन बनाए । सुयोग भट्ट २८ बलमा २८ रन बनाउदै अविजित रहे । नेक्स्ट राइजिङका लागि बलिङमा दिपेन्द्र थापाले २ तथा अबी कँडेल र कुँवर बरारले समान एक एक विकेट लिए ।
क्याम युथले लिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेक्स्ट राइजिङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो । टोलीका लागि देवाशिष अधिकारी (३६), युवराज जैसी (३४), पुस्तम उप्रेती (२४) र सन्देश आचार्यले (११) रन बनाए । क्याम युथको जितमा सुदर्शन थापाले २ तथा बिशाल चौधरी र मुस्कान पाण्डेले समान एक एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच क्यामका विजय डी भए ।
आइतवार नै भएको दोस्रो खेलमा अमडाब्लम ब्लेजरले बुद्धभूमि क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्यो । ब्रेसिंगटन पार्कमा बुद्धभूमिले दिएको १ सय १० रनको लक्ष्य अमडाब्लमले १३.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । टोलीको जितमा ओपनर मो. जफर अंसारीले २१ बलमा ४३ रनको योगदान दिए । उनले ४ चौंका र ३ छक्का प्रहार गरे । भूपेन्द्र थापा क्षेत्री (२४) र दिप राणाले (१३) रन बनाए । रविन रेग्मी १२ रनमा अविजित रहे । टोलीले २० रन अतिरिक्त पायो । बुद्धभूमिका लागि सागर शर्मा, विवेक यादव र विजय कट्टेलले समान एक एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको बुद्धभूमिले १८.५ ओभरमा अलआउट हुँदै १ सय ९ रन बनाएको थियो । टोलीका लागि विजय कट्टेल (३७), नितेश थापा (३५), नरेन्द्र चन्द (१५) र उमेश राजबंशीले (१०) रन बनाएका थिए । अमडाब्लमका लागि रविन रेग्मीले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । भूपेन्द्र थापा क्षेत्री र सागर थापाले समान २-२ विकेट लिए । सुबोध बस्नेत, मो. जफर अंसारी र ग्यापन रेग्मीको नाममा एक एक विकेट रह्यो । खेलको प्लेयर अफ द म्याच अमडाब्लमका मो. जफर अंसारी भए ।
आजै भएको तेस्रो खेलमा वेस्ट युनाइटेड क्रिकेट क्लबले जीएनआर क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको छ । एभर्ली पार्कमा जीएनआरले दिएको १ सय २० रनको लक्ष्य वेस्ट युनाइटेडले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । टोलीका लागि कृतन ताम्रकारले ३२ रनको अविजित पारी खेले । १२ बलको सामना गर्ने क्रममा उनले ५ छक्का प्रहार गरे । अर्जेन अर्याल २४, विशाल मण्डल १९, जीवन श्रेष्ठ १७ र सन्दीप शर्माले ११ रनको योगदान दिए । दिवस भट्टराई ३ रनमा अविजित रहे । जीएनआरका लागि बलिङमा सुमन कार्कीले ४ विकेट लिए । अनुरोध तिवारीले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको जीएनआरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । टोलीका लागि सुनिल बानियाँले २८ बलमा ३८ रनको अविजित पारी खेलेका थिए । विष्णु कुमार कटुवाल २१ र अनुरोध तिवारीले १९ रन बनाएका थिए । वेस्ट युनाइटेडका लागि बलिङमा मौसफ राणाले सर्वाधिक ३ विकेट लिए । विवेक के सीले २ विकेट लिदा अलिन छन्त्यालको नाममा एक विकेट रह्यो । खेलको प्लेयर अफ द म्याच वेस्ट युनाइटेडका कृतन ताम्रकार भएका थिए ।
आइतवार भएको चौथो खेलमा तराई टाइगर स्पोर्ट्स क्लबले एई ग्लोबल क्रिकेट क्लबलाई ३७ रनले पराजित गर्यो । १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा एई ग्लोबल १८.३ ओभरमा १ सय ११ रन बनाउदै अलआउट भयो । टोलीका लागि अनुराग खेरवार २७, विशाल थापा १९ र प्रवीण बस्नेतले १५ रन बनाए । ती बाहेक अन्य खेलाडीहरुले एई ग्लोबलका लागि दोहरो अंकमा रन बनाउन सकेनन । तराई टाइगरका लागि पेम्बा लामा बालपाले सर्वाधिक ३ विकेट लिए । भुवन कार्कीले २ विकेट लिदा शिशिर थापा, बिकेश जोशी र अमन सिंहको नाममा समान एक एक विकेट रह्यो ।
यसअघि टस हारेर ब्याटिङ गरेको तराई टाइगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । टोलीका लागि शिशिर थापाले सर्वाधिक २६ रनको योगदान दिए । मायानन्द चौधरी थारु २१ र पेम्बा लामा बालपाले १९ रन बनाए । मिलन पुलामी २१ र बिकेश जोशी १८ रनमा अविजित रहे । एई ग्लोबलका लागि विजय जी सीले ३ विकेट लिए । विवेक देवकोटा र अनुराग खेरवारले समान २-२ विकेट लिए । निकेश उप्रेतीको नाममा एक विकेट रह्यो । खेलको प्लेयर अफ द म्याच तराई टाइगरका पेम्बा लामा बालपा भए ।
आज भएको अन्तिम खेलमा एक्स्ट्राटेक क्रिकेट क्लबले चितवन राइनोज क्रिकेट क्लबलाई ५३ रनले पराजित गरेको छ । एक्स्ट्राटेकबाट पाएको १ सय ५० रनको लक्ष्य पछ्याउने क्रममा चितवन राइनोजको टोली १६.२ ओभरमा ९६ रन बनाउदै अलआउट भयो । टोलीका लागि अनिल पाठक ३८, रेशम भण्डारी १४, प्रकाश सापकोटा ११ र राजमणि ढकालले १० रन बनाए । एक्स्ट्राटेकका लागि बलिङमा सञ्जय खत्रीले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । आदित्य महता र अनिल शाहुले समान २-२ विकेट लिए । रामसुरत यादव र प्रयास रेग्मीको नाममा एक एक विकेट रह्यो ।
यसअघि टस जितेर ब्याटिङ गरेको एक्स्ट्राटेकले १९.५ ओभरमा अलआउट हुँदै १ सय ४९ रन बनाएको थियो । टोलीका लागि सुवर्ण बिष्टले ३७ बलमा ४५ रनको योगदान दिएका थिए । उनले ५ चौंका २ छक्का प्रहार गरेका थिए । आदित्य महता ३२, अनिल शाहु २४ र मयंक घिमिरेले १३ रन बनाएका थिए । चितवन राइनोजका लागि बलिङमा रविन शाह, गौरव सापकोटा र प्रज्ञान श्रेष्ठले समान २-२ विकेट लिए । सुशील कलवार र प्रशान्त थापाले एक एक विकेट लिए । खेलको प्लेयर अफ द म्याच एक्स्ट्राटेकका आदित्य महता भए ।
क्याम युथ एसोसिएनको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले उपाधिसहित ६ हजार र दोस्रो हुने टोलीले २ हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछ । प्लेयर अफ द सिरिजले ५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् । ‘सँगै हामी सक्छौं’ भन्ने नाराका साथ सुरुवात भएको प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा क्याम युथ क्रिकेट क्लब, लुम्बिनी क्रिकेट क्लब, तराई टाइगर्स स्पोर्ट्स क्लब, बुद्धभूमि क्रिकेट क्लब, वेस्ट युनाइटेड क्रिकेट क्लब, जीएनआर क्रिकेट क्लब, एई ग्लोबल क्रिकेट क्लब र रोयल खुकुरी क्रिकेट क्लबको सहभागिता रहेको छ ।
त्यस्तै बाउन्ड्री लाइन क्रिकेट क्लब, द कंगारु क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, हाम्रो युथ क्रिकेट क्लब, सिम्रिक बोइज क्रिकेट क्लब, द नेक्स्ट राइजिंग क्रिकेट क्लब, अम्दाबलम ब्लेजर्स क्रिकेट क्लब, एक्स्ट्राटेच क्रिकेट क्लबले प्रतियोगितामा सहभागिता जनाएका छन ।

टिप्पणी लेख्नुहोस्