क्यास्पर रुडलाई हराउँदै जोकोभिचले रचे इतिहास
काठमाडौंँ । सर्बियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले आइतबार फ्रेन्च ओपनको उपाधि जितेका छन् । जोकोभिचले उपाधि खेलमा क्यास्पर रुडलाई सोझो सेटमा हराउदै उपाधिमाथी कब्जा गरेका हुन् । यो संगै उनले तेस्रो रोल्ला गारान उपाधि जितेका छन् । जोकोभिचको यो २३ औं ग्रान्डस्लाम उपाधि हो । उनले सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने मामिलामा स्पेनका राफेल नाडाललाई पनि पछि पारेका छन् । नाडालले अहिलेसम्म २२ ग्रान्डस्लाम उपाधि जितेका छन् ।
फ्रेन्च ओपनको फाइनल खेलमा जोकोभिचले क्यास्पर रुडलाई ७–६, ६–३, ७–५ ले हराए।
जोकोभिचले तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका हुन् । उनले सन् २०१२, २०१४ र २०१५ को तीन फाइनलमा हार बेहोरे पनि अन्ततः सन् २०१६ मा पहिलो पटक उपाधि कब्जा गरेका थिए । २०२० मा उनी उपविजेता भए पनि २०२१ मा पुनः च्याम्पियन बनेका थिए । योसँगै जोकोभिचले ३ फ्रेन्च ओपनको उपाधि जितेका म्याट्स विलान्डर, इभान लेन्डल र गुस्ताभो कुएर्टेनको बराबरी गरेका छन् । उनले अहिलेसम्म ३४ पुरुष सिंगल्स ग्रान्डस्लाम फाइनल खेलेका छन् ।
रोल्ला गारानमा आफ्नो ३ उपाधि बाहेक जोकोभिचले ६ पटक विम्बल्डन, ४ पटक युएस ओपन र १० पटक अष्ट्रेलियन ओपन जितेका छन्। अर्कोतर्फ फ्रेन्च ओपनको कुरा गर्ने हो भने जोकोभिचले फ्रेन्च ओपनमा ९२ खेल जितेका छन् भने १६ खेलमा हार बेहोरेका छन् । अस्ट्रेलियन ओपनमा उनको कीर्तिमान ८९–८ को छ। साथै, यो एकमात्र ग्रान्डस्लाम हो जसमा उनले ९० भन्दा बढी खेल जितेका छन्। त्यस्तै जोकोभिचको विम्बल्डनमा ८६–१० र यूएस ओपनमा ८१–१३ को कीर्तिमान छ ।

टिप्पणी लेख्नुहोस्