क्रिकेट टोली अन्योलमा रहदा फुटबल टोली भारत आउने
काठमाडौंँ । पाकिस्तानले भारतको बैंगलोरमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपमा आफ्नो सहभागिता पुष्टि गरेको छ। एआईएफएफले पाकिस्तानी खेलाडीलाई भारत भ्रमणमा कुनै समस्या नरहेको बताएको छ । साफ च्याम्पियनसिपलाई थप प्रतिस्पर्धात्मक बनाउन दक्षिण एसियाली क्षेत्र बाहिरका टोलीलाई समावेश गर्ने साफको कार्यकारी समितिले निर्णय गरेपछि प्रतियोगितामा लेबनान र कुवेतको सहभागिता पनि तय भएको छ ।
क्रिकेटमा दुई देशबीच जारी विवादका कारण भारतीय टोलीले पाकिस्तानमा हुने एसिया कप खेल्न अस्वीकार गरेको छ । जसकारण पाकिस्तानी टोली पनि भारतमा हुने एकदिवसीय विश्वकप खेल्न तयार छैन । योसँगै भारतलाई सन् २०२५ मा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफी खेल्न गाह्रो हुने भएको छ ।
अखिल भारतीय फुटबल महासंघका महासचिव साजी प्रभाकरनले भने, 'पाकिस्तानका खेलाडीहरू साफ च्याम्पियनसिपमा भाग लिन भारत आउनुमा हामी कुनै समस्या देख्दैनौं। दुई देशबीचको राजनीतिक तनावलाई मध्यनजर गर्दै पाकिस्तानी खेलाडीलाई भिसा दिनमा कुनै समस्या हुन सक्छ कि भनेर सोधिएको थियो । 'मलाई लाग्छ कि भारतीय ब्रिज टोलीले हालै पाकिस्तानमा क्षेत्रीय प्रतियोगितामा भाग लिएको छ र त्यसैले हामी उनीहरूको (पाकिस्तान) सहभागितामा कुनै समस्याको आशा गर्दैनौं,' उनले भने।
आठ टोलीको यो प्रतियोगिता बैंगलोरमा जुन २१ देखि जुलाई ४ सम्म हुनेछ । प्रतियोगितामा आयोजक भारत, लेबनान, कुवेत र पाकिस्तानबाहेक अन्य चार देश नेपाल, भुटान, बंगलादेश र माल्दिभ्स सहभागी छन् । विश्व प्रशासकीय निकाय फिफाले निलम्बन गरेको कारण श्रीलंकाले यो प्रतियोगितामा भाग लिएको छैन भने अफगानिस्तानले केही वर्षअघि साफ छाडेर मध्य एसियाली फुटबल महासंघमा आबद्ध भएको थियो ।
सन् १९९३ देखि आयोजित १३ संस्करणमध्ये पाकिस्तानी टोलीले दुईवटा प्रतियोगितामा भाग लिएको छैन। पाकिस्तान फुटबल महासंघले आन्तरिक विवादका कारण भारतमा हुने सन् २०१५ को संस्करणमा आफ्नो टोली पठाउन सकेन । फिफाको निलम्बनका कारण पाकिस्तानी टोलीले २०२१ को संस्करण खेल्न सकेन । यो निलम्बन गत वर्ष फुकुवा भएको थियो । प्रभाकरनले कुवेत, लेबनानलगायत सहभागी सबै देशले आफ्नो राष्ट्रिय टोली पठाउने पनि बताए ।
'हो, लेबनान, कुवेतका साथै अन्य सबै सहभागी देशहरूले आफ्नो राष्ट्रिय टोली पठाउनेछन्,' साफको प्रतिनिधिको रूपमा हालै एसियाली फुटबल महासंघको कार्यकारी समितिको सदस्य बनेका प्रभाकरणले भने।

टिप्पणी लेख्नुहोस्