खुला टेनिस प्रतियोगिताको तयारी पूरा
काठमाडौं । काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता आइतवारदेखि हुने भएको छ । प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा १ सय ३७ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले जनाएका छन् ।
विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिताको सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको कुल नगद पुरस्कार राशी ५ लाख १७ हजार ५ सय रुपैयाँ रहेको छ । पुरुष÷महिला सिंगल्स, मिक्स डबल्स, पुरुष भेट्रान ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि सिंगल्समा खेल हुने छ ।
बैशाख १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने छ ।

टिप्पणी लेख्नुहोस्