खेल पर्यटन बढाउन झिल्टुङ क्रसकन्ट्री दौड
त्रिशूली । पहाडी भूमिमा पर्यटन प्रबर्द्धनसहित नयाँ खेलाडी उत्पादन र खेल क्षेत्रको विकासमा टेवा पु¥याउन सुरु गरिएको झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिताको सातौँ सस्करण शनिबार सम्पन्न भएको छ ।
स्थानीय महिला (आमा) तथा पुरुष (बा)हरुकोसमेत सहभागितामा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएका राष्ट्रियस्तरका खेलाडीले विभिन्न दश विधामा प्रतिस्पर्धा गर्दै अघिल्ला वर्ष आफ्नै नाममा रहेको कीर्तिमानी (रेकर्ड) तोडेका छन् ।
प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी पाएको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीको अनुसार १३ दशमलव ५ किलोमिटर (किमि) पुरुष खुलातर्फको प्रतिस्पर्धामा सोलुखुम्बुका सुमन कुलुङले यसअघि आफ्नै नाममा रहेको रेकर्ड तोड्दै पहिलो भए । उनको पाचौँ सस्करणमा रहेको निर्धारित दुरी पार गर्न लागेको ५३ मिनेट २९ सेकेण्डको रेकर्ड तोड्दै सातौँ सस्करणमा ५३ मिनेट ९ सेकेण्डमा छोट्याए । प्रतियागितामा सशस्त्र प्रहरी बलका निरोज भट्ट दोस्रो र काठमाडौँका अनिल कटुवाल तेस्रो भए ।
कूल १३ दशमलव ५ किमि महिला खुलातर्फ नेपाल प्रहरीको रेखा विष्ट प्रथम भइन । उनले निर्धारित दूरी एक घण्टा ११ मिनेटमा पूरा गरिन । उक्त विधामा सोलुखुम्बुका अनिता राई दोस्रो र सिन्धुपाल्चोकको नितु तामाङ तेस्रो भए । साथै १३ दशमलव ५ किमिको भेट्रान खुला पुरुषतर्फ काठमाडौँका धर्म महर्जन प्रथम, धादिङका रैवतबहादुर दाहाल दोस्रो र ललितपुरका भीमसेन आले तेस्रो भए भने १३ दशमलव ५ किमिको स्थानीय पुरुष (बा समूह)तर्फ बिमल थापामगर प्रथम, सुमन तामाङ दोस्रो र रोशन श्रेष्ठ तेस्रो भए ।
प्रतियोगिताको छोटो दूरीतर्फ ४ दशमलव ५ किमि खुला (१६ वर्षमुनि) छात्रातर्फ भक्तपुरका ऊर्जा मधिकर्मी प्रथम, काठमाडौँको आयुस्मा आचार्य दोस्रो र काठमाडौंँ कै पूर्णिमा श्रेष्ठ तेस्रो भएको प्रतियोगिताका व्यवस्थापक मोहन नेपालले जानकारी दिए ।
उनका अनुसार सोही दूरीतर्फको खुला (१६ वर्षमुनि) छात्रतर्फ गोरखाको श्याम मगराती प्रथम, ललितपुरका विकेश घिमिरे दोस्रो र सिन्धुपाल्चोकको मिङ्मार सिङ्गी तामाङ तेस्रो भए । साथै ४ दशमलव ५ किमी स्थानीय पुरुषतर्फ हीरालाल मिजार प्रथम, सन्तलाल श्रेष्ठ दोस्रो र रुद्रलाल श्रेष्ठ तेस्रो भए ।
प्रतियोगिताको लामोदूरी (१३ दशमलव ५ किमी) तर्फको चार विधामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रू १५ हजार, रू १२ हजार र रू १० हजार प्राप्त गरे । छोटा दूरी (४ दशमलव ५ किमी)तर्फ विभिन्न छ विधाका प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रू छ हजार, रू चार हजार र रू दुई हजारसहित प्रमाणपत्र र मेडल कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री अजुर्ननरसिंह केसीले प्रदान गरे ।

टिप्पणी लेख्नुहोस्