लेख विवरण

गल्फ च्याम्पियनसिपको दोस्रो दिन निरज शीर्षस्थानमा उक्लिए

गल्फ च्याम्पियनसिपको दोस्रो दिन निरज शीर्षस्थानमा उक्लिए

काठमाडौं । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन निरज तामाङ शीर्षस्थानमा उक्लिएका छन । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा मंगलबार निरजले आठ अन्डर ६४ स्कोर खेले । ३६ होलको समाप्तिसँगै निरजको कूल १२ अन्डर एक सय ३२ स्कोर छ ।

निरजले दोस्रो स्थानमा रहन सफल एमेच्योर वानचेन ढोन्डुप र शुक्रबहादुर राईलाई दुई स्ट्रोकले पछि पारेका छन । वानचेन र सुक्रको समान १० अन्डर एक सय ३४ स्कोर छ । दोस्रो दिन वानचेनले तीन अन्डर ६९ र सुक्रले सात अन्डर ६५ खेलेका थिए ।

युवा एमेच्योर गल्फर सद्भाव आचार्य समग्रमा नौ अन्डर एक सय ३५ स्कोरका साथ चौथो स्थानमा छन । मंगलबार उनले ६ अन्डर ६६ खेले । पाँचौं स्थानमा रहेका घरेलु प्रो भुवन नगरकोटीको कूल आठ अन्डर एक सय ३६ स्कोर छ । दोस्रो दिन भुवनले चार अन्डर ६८ खेले ।

७२ होलको चारदिने प्रतियोगितामा ३६ होलको समाप्तिसँगै कूल ६ ओभर एक सय ५० सम्म खेल्ने २२ प्रो र आठ एमेच्योरसहित ३० जना खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् । सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको अन्तिम यस स्पर्धामा ३४ प्रो र ११ जना एमेच्योरले भाग लिएका थिए ।

प्रतियोगितामा प्रो तर्फको विजेताले दुई लाख ५० हजार, उपविजेताले एक लाख ५५ हजार र तेस्रो हुनेले एक लाख १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । शीर्ष २१ मा पर्ने प्रोले पनि आकर्षक नगद पुरस्कार हात पार्नेछन् । एमेच्योरलाई ट्रफी प्रदान गरिनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.