लेख विवरण

गोल जोगाउने प्रयास गर्दा आफ्नै टोलीको साथीसँग ठोक्किएपछि

गोल जोगाउने प्रयास गर्दा आफ्नै टोलीको साथीसँग ठोक्किएपछि

काठमाडौं । छैटौं पटक फिफा विश्वकपमा सहभागी भएको इरानको टोलीले अपेक्षित सुरुवात गर्न सकेन । फिफा विश्वकप २०२२ को पहिलो खेलमै टोलीले इंग्ल्याण्डसँग ६–२ ले लज्जास्पद हार बेहोरेको छ । खेलको सुरुवात देखी अन्तिम सम्म इङ्ल्यान्डको टोली इरानमाथि हावी रह्यो । खेलमा इरान पराजित भयो तर टोलीका एक प्रमुख खेलाडी नराम्ररी घाइते भए ।

इरानले आफ्नो सुरुवाती ११ मा गोलकिपर अलिरेजा बेइरानभान्डलाई छनोट गरेको थियो । तर खेलको क्रममा नराम्ररी घाइते भएपछि उनलाई मैदानबाट बाहिर निकालिएको थियो। उनको ठाउँमा हुसैनीले गोलकिपिङ गरे र ६ गोल खाए ।

इंग्ल्याण्डको टोलीले सुरुवातदेखि नै खेलमा गोलको अवसर सिर्जना गर्दै आएको थियो । खेल सुरुभएको ७ मिनेटमा इङ्ल्यान्डले देब्रेतर्फबाट आक्रमण गर्यो र ह्यारी केनले बललाई गोलपोस्ट अगाडि पठाए। इरानका गोलकिपरले भागेर बल रोक्ने प्रयास गरे । बलले उनको औंलालाई छोयो तर डाइभिङ गर्ने क्रममा उनी आफ्नै टोलीका साथी माजिद हुसैनीसँग ठोक्किन पुगे । त्यसपछि दुवै खेलाडी भुइँमा लडे । यस अवधिमा अलिरेजालाई थप चोट लाग्यो, उनको नाकबाट लगातार रगत बगिरहेको थियो, जुन कपडासम्म पुग्यो ।

यो देखेर चिकित्सकहरु तुरुन्त मैदानमा आए र लामो समयसम्म उनको उपचार गरिरहे । जसकारण खेल निकै बेर रोकिएको थियो । त्यसको केही समयपछि अलिरेजा उठे र खेल्न तयार भए । तर केही सेकेन्डपछि उनले खेल्न नसक्ने महसुस गरे र उनले बेन्चतर्फ औंल्याए। त्यसपछि उनलाई स्ट्रेचरमा राखेर बाहिर निकालियो । उनी त्यहाँ हुँदासम्म इरानले गोल खाएको थिएन।

खेलमा इंग्ल्याण्डको टोलीले आफ्नो पूर्ण क्षमता देखाउदै पहिलो हाफमा तीन गोल गरेर जितको सम्भावना बढाएको थियो । टोलीका लागि जुड वेलिङ्घमले ३५औं, बुकायो साकाले ४३औँ र ६२औँ, रहिम स्टर्लिङले पहिलो हाफको अतिरिक्त समयमा, मार्कस रासफोर्डले ७१औँ र ज्याक ग्रेलिसले ८९औँ मिनेटमा गोल गरेका थिए । इरानका लागि दुई गोल मेहेन्दी टर्मीले गरेका थिए । उनले खेलको ६५ औं मिनेटमा र अतिरिक्त समयमा गोल गरेका थिए ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.