घरेलु मैदानमा अस्ट्रेलियाले इंग्ल्यान्डको सामना गर्ने
काठमाडौं । आइसिसी टी–२० विश्वकपमा अष्ट्रेलियाली क्रिकेट टोलीले अपेक्षा अनुरुपको प्रदर्शन गर्न सकेन । फलस्वरूप आरोन फिन्चको कप्तानीमा रहेको टोली सुपर–१२ चरणबाटै बाहिरियो । अब टोलीले टी–२० विश्वकपको नयाँ विजेता इंग्ल्यान्डसँग फरक फर्म्याटमा प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीबीच तीन खेलको एकदिवसीय श्रृखंला बिहीबारदेखि सुरु हुँदैछ । इंग्ल्यान्ड एकदिवसीय क्रिकेटको पनि विश्व विजेता हो ।
टेस्ट टोलीका कप्तान प्याट कमिन्सलाई एकदिवसीय टोलीको पनि कप्तानीको जिम्मेवारी दिइएकोले यो सिरिज अस्ट्रेलियाको लागि नयाँ सुरुवात हुन सक्छ । यस अघिका कप्तान एरोन फिन्चले एकदिवसीय क्रिकेटबाट सन्यास लिइ सकेका छन् । नयाँ कप्तानसँगै अष्ट्रेलियाली टोलीले नयाँ सुरुआत गर्ने प्रयास गर्नेछ र आफ्नो पुरानै स्थिति लाई पुनः प्राप्त गर्न कटिबद्ध हुनेछ । कमिन्सको कप्तानीमा अष्ट्रेलिया टेस्ट क्रिकेटमा राम्रै गरेको छ । तर अब कमिन्स एकदिवसीय क्रिकेटमा कसरी सफल कप्तान साबित हुन्छन्, त्यो हेर्न बाँकी नै छ ।
सिरिजको पहिलो खेल १७ नोभेम्बर अर्थात् बिहीबार एडिलेडको एडिलेड ओभलमा खेलाइनेछ । त्यसपछि दुवै टोली सिड्नी जानेछ । दोस्रो एकदिवसीय खेल नोभेम्बर १९ का दिन सिड्नी क्रिकेट ग्राउन्डमा हुनेछ । तेस्रो खेल नोभेम्बर २२ मा मेलबर्न क्रिकेट ग्राउन्डमा हुनेछ ।
अस्ट्रेलिया र इंग्ल्यान्डबीच तीन खेलको एकदिवसीय शृंखलाका सबै खेलहरु डे–नाइट हुनेछ । नेपाली समयअनुसार ती खेलहरु बिहान ८ः३५ बजे सुरु हुनेछ ।

टिप्पणी लेख्नुहोस्