घरेलु मैदानमा कोलकाता हैदरावादसँग पराजित
काठमाडौंँ । ह्यारी ब्रुकको शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को १९ औं खेलमा कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ । प्रतियोगितामा ब्रुकको यो पहिलो सतक हो ।
इडेन गार्डेन रंगशालामा कोलकाताले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा चार विकेट गुमाएर २२८ रन बनाएको थियो । जारी सिजनको यो सबैभन्दा ठूलो स्कोर हो । जवाफमा कोलकाताले २० ओभरमा सात विकेट गुमाएर २०५ रन मात्रै बनाउन सक्यो ।
ह्यारी ब्रुकले आईपीएलमा आफ्नो पहिलो शतक बनाए । उनले ५५ बलमा शतक पूरा गरे । यसअघि ब्रुकले ३२ बलमा आफ्नो पहिलो अर्धशतक पूरा गरे र यसलाई शतकमा परिणत गरे। उनले एडेन मार्करामसँग ४७ बलमा ७२ रनको साझेदारी गरे । मार्कराम (५० रन) आफ्नो करियरको चौथो अर्धशतक बनाएर आउट भए । हैदरावादका लागि ब्रुकका अलावा कप्तान एडेन मार्करामले २६ बलमा ५० र अभिषेक शर्माले १७ बलमा ३२ रन बनाए । कोलकाताका आन्द्रे रसेलले तीन विकेट लिए । वरुण चक्रवर्तीले १ सफलता हात पारे ।
जवाफी इनिङ्समा कोलकाताका ओपनर एन जगदीशनले ३६ रन जोडे भने कप्तान नितिश राणाले ४१ बलमा ७५ र रिंकु सिंहले ३१ बलमा ५८ रन बनाए । हैदरावादका मार्को जानसेन र मयंक मार्कण्डेले २–२ विकेट लिए । भुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले एक एक विकेट लिए ।
जारी सिजनमा हैदरावादको यो दोस्रो जित हो । टोली अहिले अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

टिप्पणी लेख्नुहोस्