घानाविरुद्ध गोल गर्दै रोनाल्डोले रचे इतिहास
काठमाडौं । फिफा विश्वकपमा बिहीबार पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले घानाविरुद्ध ६५ औं मिनेटमा गोल गर्दै इतिहास रचेका छन् । दोहास्थित स्टेडियम ९७४ मा जारी समूह एच को खेलमा घानाले पोर्चुगलको टोलीलाई फाउल गरेपछि पेनाल्टी पाएको थियो । अवसरको सदुपयोग गर्दै ३७ वर्षिय रोनाल्डोले आफ्नो टोलीका लागि खेलको पहिलो गोल गरे । त्यससँगै उनी लगातार पाँच विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् ।
योसँगै उनले पेले र चार विश्वकपमा गोल गर्ने जर्मनीका उवे सिलर र मिरोस्लाभ क्लोजलाई पछि पारेका छन। रोनाल्डोको यो ११८ औं अन्तर्राष्ट्रिय गोल थियो। उनी यसअघि नै विश्वकै सर्वाधिक गोलकर्ता बनिसकेका छन् । अब उनको विश्व कीर्तिमान झनै ठूलो भएको छ । रोनाल्डोले सेप्टेम्बर २०२१ मा आयरल्याण्ड विरुद्ध गोल गर्दै अली देईको १०९ गोलको कीर्तिमान तोड्दै यो उपलब्धि हासिल गरेका थिए।

टिप्पणी लेख्नुहोस्