घानासँग पोर्चुगल सतर्क हुनुपर्ने, विश्वको ध्यान अब मेस्सीपछि रोनाल्डोमा
काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत आज राति ९ः४५ बजे पोर्चुगल र घानाबीच खेल हुँदैछ । पोर्चुगल र घानाबीच हुने खेलमा आफ्नो पाँचौं र सम्भवतः अन्तिम विश्वकप खेलिरहेका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि सबैको ध्यान रहनेछ ।
हिजो मात्र ३७ वर्षीय क्रिस्टियानो रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडले बर्खास्त गरेको छ । रोनाल्डोले युनाइटेडका प्रशिक्षक एरिक टेन हाइग, क्लबका मालिक र सहकर्मी खेलाडीको आलोचना गरेकाका कारण बर्खास्त गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । त्यसकारण अहिले रोनाल्डो क्लब स्तरको टोलीमा छैनन र यस्तो अवस्थामा विश्वकपमा उनको प्रदर्शनले भविष्यमा कुन टोलीमा समावेश हुने भन्ने निर्णय गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
पाँच पटक प्लेयर अफ द इयर घोषित भएका रोनाल्डोले आपसी सहमतिमा म्यानचेस्टर युनाइटेडसँग सम्बन्ध तोड्नुअघि आफ्नो क्लबसँग सम्बन्धित मुद्दाले पोर्चुगलको विश्वकप यात्रामा कुनै असर नगर्ने बताएका थिए ।
रोनाल्डोले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन् । त्यसकारण पहिलो पटक ट्रफी जित्नु उनको लागि यो विश्वकपमा प्रेरणाको स्रोत हुनेछ । यसबाहेक, नयाँ क्लब आकर्षित गर्नु उनको लागि बोनस जस्तै हुनेछ। पोर्चुगलले पहिलो खेलमा विश्वकपमा सहभागिता जनाउने सबैभन्दा कम वरीयताको टोली घानाको सामना गर्दैछ । तर घानालाई सर्मथकहरुले लुकेको प्रतिभाको संज्ञा दिएका छन् ।
घाना विश्व वरियतामा ६१ औं स्थानमा छ । यो समूहमा उरुग्वे र दक्षिण कोरियाजस्ता अपसेट गर्न सक्ने टोली पनि छन् । यसबाहेक साउदी अरेबियाले लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई पराजित गर्दै कमजोर टोलीलाई विश्वकपमा केही पनि असम्भव छैन भन्ने सन्देश दिएको छ । घानासँग थोमस पार्टे र मोहम्मद कुद्दुसजस्ता खेलाडी छन्, जसले युरोपियन क्लबमा राम्रो प्रदर्शन गरेका छन् । त्यसकारण पोर्चुगल यी खेलाडीप्रति सचेत रहनुपर्छ ।

टिप्पणी लेख्नुहोस्