लेख विवरण

चटगाउँ टेस्ट : भारतीय टोली जितबाट ४ विकेट टाढा, बंगलादेशलाई २४१ रन आवश्यक

चटगाउँ टेस्ट : भारतीय टोली जितबाट ४ विकेट टाढा, बंगलादेशलाई २४१ रन आवश्यक

काठमाडौं । बंगलादेश विरुद्धको पहिलो टेस्टमा भारतीय टोली जितबाट ४ विकेट टाढा रहेको छ । चौथो दिनको खेल सकिँदा बंगलादेशले दोस्रो इनिङ्समा ६ विकेट गुमाएर २७२ रन बनाएको छ । घरेलु टोलीका शाकिब अल हसन ४० र मेहिदी हसन मिराज ९ रनमा अविजित छन् ।

चौथो दिनको खेलमा भारतका लागि अक्षर पटेलले सर्वाधिक ३ विकेट लिए । उमेश यादव, रविचन्द्रन आश्विन र कुलदीप यादवले १–१ विकेट लिए । खेलको अन्तिम दिन आइतबार अब बंगलादेशले जितका लागि २४१ रन जोड्नुपर्नेछ ।

चौथो दिनको खेलमा बंगलादेशका लागि टेस्टमा डेब्यु गरेका जाकिर हसन (१००) ले शतक प्रहार गरेका छन् । उनी डेब्युमै शतक बनाउने चौथो बंगलादेशी ब्याट्सम्यान बनेका छन् । टोलीका लागि नजमुल हसन शान्तोले ६७ रनको इनिङ खेले । हसन र शान्तोले पहिलो विकेटको साझेदारीमा १२४ रन जोडे। दुवैले भारतीय टोलीलाई पहिलो विकेटका लागि ४६ ओभरसम्म पर्खन बाध्य बनाए।

जारी खेलमा भारतले पहिलो इनिङ्समा ४ सय ४ रन बनाएको थियो । जवाफमा बंगलादेशको टोली पहिलो इनिङसमा १५० रनमा समेटिएको थियो । त्यसपछि पाहुना टोली भारतले २ सय ५८ रन बनाएर दोस्रो इनिङ्सको घोषणा गर्दे गर्दै घरेलु टोलीलाई ५१३ रनको लक्ष्य दिएको थियो ।

पहिलो सत्रमा बंगलादेशी ओपनरको दबदबा

चौथो दिनको पहिलो सत्र बंगलादेशको नाममा रह्यो । घरेलु टोलीका ओपनरहरुले शतकीय साझेदारी गर्दा भारतीय बलरहरु विकेटका लागि संघर्षरत थिए । यो सत्रमा बंगलादेशले ७७ रन बनाएको थियो ।

दोस्रो सत्रमा भारतीय बलरहरुको कमब्याक

दोस्रो सत्रमा भारतीय बलरहरूले कमब्याक गरेका थिए । बंगलादेशी ब्याट्सम्यानहरुले लंचदेखि टि ब्रेकसम्म ५७ रन बनाउदा भारतीय बलरहरुले तीन विकेट लिए । पहिले विकेटको रुपमा उमेश यादवले शान्तोलाई आउट गर्दै ओपनिङ साझेदारी तोडेका थिए । त्यसपछि अक्षर पटेल र कुलदीप यादवले दुई विकेट लिए ।

तेस्रो सत्रमा अक्षरको उत्कृष्ट बलिङ

तेस्रो तथा अन्तिम सत्रमा अक्षर पटेलले उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिए । अश्विनले एक विकेट लिए । साँझको टि ब्रेकपछि बंगलादेशले ९६ रन बनाउदा भारतले ३ विकेट लिएको थियो ।

जाकिरले २२४ बलमा शतक बनाए

बंगलादेशका ओपनर जाकिर हसनले डेब्यु खेलमै शतक प्रहार गरे । बंगलादेशका लागि डेब्यु खेलमै शतक प्रहार गर्ने उनी चौथो ब्याट्सम्यान बनेका छन् ।यसअघि अमिनुल इस्लाम (१४५), मोहम्मद अशरफुल (११४) र अबुल हसन (११३)ले यो उपलब्धि हासिल गरिसकेका छन्।

जाकिरले २२४ बलमा १०० रन बनाए । उनले १२ चौका र एक छक्कासहितको इनिङ खेले।

शान्तोको तेस्रो अर्धशतक

डेब्यु टेस्ट खेल्दै जाकिर हसनले शतक प्रहार गर्दा नजमुल हसन शान्तोले अर्धशतक बनाए । शान्तोनले आफ्नो टेस्ट करियरको तेस्रो अर्धशतक बनाएका छन् । यी दुईबीच १२४ रनको ओपनिङ साझेदारी भएको थियो ।

तेस्रो दिनको खेलमा भारतले ५१३ रनको लक्ष्य दिएको थियो

भारतीय टोलीले आफ्नो दोस्रो इनिङ्स २५८/२ मा घोषणा गरेको थियो । दोस्रो इनिङ्समा टोलीका लागि २ सतक प्रहार भएको थियो । ओपनर शुभमन गिलले ११० रन बनाउदा चेतेश्वर पुजाराले अविजित १०२ रनको इनिङ खेलेका थिए । इनिङ्स घोषणा भएपछि विराट कोहली अविजित १९ रन बनाउदै पुजारासँग फर्किए । पुजाराले ५१ इनिङ्स तीन वर्ष ११ महिनापछि टेस्टमा शतक बनाएका हुन । पुजाराको १९ औं शतक पूरा हुने बित्तिकै कप्तान केएल राहुलले इनिङ्स घोषणा गरेका थिए ।

खेलको पहिलो इनिङ्समा बंगलादेशी टोली १५० रनमा अलआउट भएको थियो । पहिलो इनिङ्समा भारतका लागि कुलदीप यादवले सर्वाधिक ५ विकेट लिए । मोहम्मद सिराजले तीन विकेट लिए । उमेश यादव र अक्षर पटेलले १–१ विकेट लिए ।

पहिलो इनिङ्समा भारतले २५४ रनको अग्रता लिएको थियो । यहाँ भारतले बंगलादेशलाई फलोअन दिनै मौका पाए पनि टोलीका कप्तान केएल राहुलले ब्याटिङ गर्ने निर्णय गरे । भारतले पहिलो इनिङ्समा ४ सय ४ रन बनाएको थियो ।

दोस्रो दिन बंगलादेशले १३३ रनमा ८ विकेट गुमाएको थियो

बिहीबार दोस्रो दिन पहिलो इनिङ्समा भारतले बनाएको ४०४ रनको जवाफमा बंगलादेशले ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । भारतका लागि बायाँ हाते स्पिनर कुलदीप यादवले सर्वाधिक ४ विकेट लिए । बलिङतर्फ फास्ट बलर मोहम्मद सिराजले ३ तथा उमेश यादवले १ विकेट लिए । बंगलादेशका लागि मुस्फिकुर रहिमले सर्वाधिक २८ रन बनाए । उनी बाहेक लिटन दासले २४ र जाकिर हसनले २० रन बनाए । नुरुल हसन र मेहदी हसन मिराजले समान १६–१६ रन बनाए ।

पहिलो दिनको भारतको स्कोर २७८/६

बुधबार पहिलो दिन भारतले ६ विकेटमा २७८ रन बनाएको थियो । श्रेयस अय्यर व्यक्तिगत ८२ रन बनाएर अविजित फर्किएका थिए । अक्षर पटेल (१४ रन), चेतेश्वर पुजारा (९०), ऋषभ पन्त (४६ रन), शुभमन गिल (२० रन), कप्तान केएल राहुल (२२ रन) र विराट कोहलीले (१ रन) बनाएका थिए ।

जारी टेस्ट खेल भारतले जित्दा विश्व टेस्ट च्याम्पियनसिपमा ५५.७६ प्रतिशत अंक प्राप्त गर्नेछ। यस्तो अवस्थामा टोलीले श्रीलंकालाई उछिन्दै अंक तालिकामा तेस्रो स्थानमा पुग्ने छ । श्रीलंकाको हाल ५३.३३ प्रतिशत अंक रहेको छ। अष्ट्रेलिया ७५ प्रतिशत अंकसहित पहिलो र ६० प्रतिशत अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । यदि जारी खेल बंगलादेशले जितेमा वा बराबरी भएमा भारत चौथो नम्बरमा रहनेछ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.