चटगाउँ टेस्ट : भारत बलियो स्थितिमा, बंगलादेशलाई जितका लागि ४७२ रन आवश्यक
काठमाडौं । भारत र बंगलादेशबीच जारी टेष्ट क्रिकेटमा तेस्रो दिनको खेल सकिएको छ । चटगाउँको जहुर अहमद चौधरी रंगशालामा भारतले दिएको ५१३ रनको लक्ष्य पछ्याउँने क्रममा घरेलु टोली बंगलादेशले कुनै विकेट नगुमाई ४१ रन बनाएको छ । टोलीका लागि नजमुल हुसेन शान्तो (२२) र जाकिर हसन (१९) रनमा अविजित छन् । खेल सकिन दुई दिन बाँकी रहँदा बंगलादेशलाई जितका लागि ४७२ रन आवश्यक छ ।
टस जितेर ब्याटिङ गरेको भारतले पहिलो इनिङ्स ४ सय ४ रन बनाएको थियो । टोलीका लागि चतेश्वर पुजारा (९०), श्रेयस अय्यर (८६) र रविचन्द्रन आश्विनले ५८ रन बनाएका थिए । बंगलादेशका लागि ताइजुल इस्लाम र मेहदी हसन मिराजले चार–चार विकेट लिए भने इबादत हुसेन र खालिद अहमदले एक–एक विकेट लिएका थिए । जवाफमा बंगलादेशले दोस्रो दिनको खेल सकिँदासम्म ८ विकेट गुमाएर १३३ रन बनाएको थियो । तेस्रो दिनको खेलमा टोलीले थप १७ रन जोड्दै १५० रनमा अलआउट भयो ।
बंगलादेशका लागि मुस्फिकुर रहिमले सर्वाधिक २८ र मेहदी हसनले २५ रन बनाए । भारतका लागि कुलदीप यादवले पाँच, मोहम्मद सिराजले तीन तथा अक्षर पटेल र उमेश यादवले एक–एक विकेट लिए ।
दोस्रो इनिङ्समा भारतका लागि शुभमन गिलले आफ्नो टेस्ट करियरको पहिलो र चेतेश्वर पुजाराले १९ औं शतक प्रहार गरे। गिलले १५२ बलमा ११० रनको इनिङ खेले । पुजाराले १३० बलमा १०२ रन बनाए । यी दुई खेलाडीको शतकमा भारतले दुई विकेट गुमाउदै २५८ रन बनाएको थियो । पुजाराको शतकसँगै कप्तान केएल राहुलले इनिङ्स घोषणा गरेका थिए । दोस्रो इनिङ्समा बंगलादेशका लागि खालेद अहमद र मेहदी हसनले एक–एक विकेट लिए । भारतले ५१२ रनको कुल अग्रता लिदै दोस्रो इनिङ्स घोषणा गरेको थियो ।

टिप्पणी लेख्नुहोस्