चरिकोटमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने
दोलखा । सदरमुकाम चरिकोटमा शनिवारबाट अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने भएको छ । यस अघि चार पटक अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता भई सकेको दोलखामा यो पाँचौ शृङ्खला आदर्श नेता स्व.भीमबहादुर तमाङ्को स्मृतिमा चेस होम दोलखाले आयोजना गर्न लागेको अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा नेपाल च्याम्पियन भई सकेको १० जना खेलाडी सहित विभिन्न सात देशका दुई सय खेलाडीको सहभागिता रहने अध्यक्ष श्रेष्ठको भनाई छ । प्रतियोगितामा प्रथमले एक लाख, द्वितीयले ६० हजार र तृतीयले ४० हजार नगद पुरस्कार पाउने छन् । सबै विधामा गरि ४७ खेलाडी पुरस्कृत हुने र पुरस्कारमा मात्र झण्डै पाँच लाख खर्च हुने आयोजकले जनाएको छ ।
खेल सञ्चालन हुने पूर्व सन्ध्यामा भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए । ट्रफी सार्वजनिक कार्यक्रम आयोजक चेस होम दोलखाको अध्यक्ष गोविन्द श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

टिप्पणी लेख्नुहोस्