चौथो एकदिवसीयमा पाकिस्तानले न्युजिल्याण्डलाई १०२ रनले हरायो
काठमाडौंँ । कप्तान बाबर आजमको शतकीय पारीमा पाकिस्तानले चौथो एकदिवसीयमा न्युजिल्याण्डलाई १०२ रनले पराजित गर्दै क्लिन स्वीप नजिक पुगेको छ । जितसँगै पाकिस्तान आईसीसी वरियतामा पहिलो स्थानमा पुग्न सफल भएको छ । कराचीमा भएको खेलमा बाबरले ११७ बलमा १०७ रन बनाए । यो सँगै उनले एकदिवसीय क्रिकेटमा १८ औं शतक प्रहार गरे ।
बाबरको शतकीय इनिङ्सका कारण पाकिस्तानले पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर ३ सय ३४ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्ड २३२ रनमा आउट भयो । जारी सिरिजमा न्यूजिल्याण्डको यो सबैभन्दा कम स्कोर हो।
जितसँगै पाकिस्तानले पाँच खेलको सिरिजमा ४–० को अग्रता बनाएको छ । सिरिजको पाँचौं र अन्तिम एकदिवसीय खेल आइतबार हुनेछ ।
खेलपछि बाबरले भने, 'विश्वको नम्बर एक टोली बन्ने श्रेय सम्पूर्ण टोली र सपोर्ट स्टाफलाई जान्छ।'
२५ औं ओभरमा पाकिस्तानको स्कोर तीन विकेटमा १२८ रन थियो। त्यसपछि बाबर र आगा सलमान (५८)ले चौथो विकेटका लागि ११७ रनको साझेदारी गरे ।
अन्तिम दुई ओभरमा शाहिन शाह अफ्रिदी (अनटआउट २३) र मोहम्मद हरिस (१७)ले ३८ रन जोडे। जस कारण पाकिस्तानले बलियो स्कोर बनाउन सफल भयो । न्युजिल्याण्डका लागि म्याट हेनरीले ६५ रनमा ३ विकेट लिए । बाबरलाई आफ्नो पहिलो एकदिवसीय खेल खेलेका बेन लिस्टरले आउट गरेका थिए, जुन उनको ओडीआईमा पहिलो विकेट पनि थियो।
आफ्नो इनिङ्समा बाबरले एकदिवसीय क्रिकेटमा ५ हजार रन पनि पुरा गरेका छन् । उनले १०१ इनिङ्समा यो उपलब्धि हासिल गरेका दक्षिण अफ्रिकाका हसिम अमलाको कीर्तिमान तोड्दै ९७ इनिङ्समा यो उपलब्धि हासिल गरेका हुन् । ठूलो लक्ष्य पछ्याएको न्यूजिल्याण्डको स्कोर पनि २६ ओभरमा तीन विकेट गुमाएर १२९ रन थियो ।
न्यूजिल्याण्डको तर्फबाट कप्तान टम लाथमले सर्वाधिक ६० रन बनाए भने मार्क च्यापम्यानले ४६ रनको योगदान दिए । न्युजिल्याण्डले ४८ रनमा अन्तिम सात विकेट गुमाएको थियो । पाकिस्तानका लागि लेग स्पिनर उस्मान मिरले ४३ रनमा ४ विकेट र मोहम्मद वासिमले ४० रनमा ३ विकेट लिए ।

टिप्पणी लेख्नुहोस्