च्यारिटी गल्फ प्रतियोगिताको उपाधि माधव सिंखडालाई
काठमाडौँ । च्यारिटी गल्फ प्रतियोगिताको उपाधि माधव सिंखडाले जितेका छन । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार भएको प्रतियोगितामा माधवले ४१ अंक बनाए । स्टेबलफोर्ड विधामा सञ्चालित प्रतियोगितमा समान अंक बनाएका कवि थापा दोस्रो भए ।
वेस्ट ग्रोसको उपाधि तासी छिरिङले जिते । ३६ अंक बनाएका तासीले समान अंक बनाएका वानचेन ढोन्डुपलाई काउन्ट ब्याकका आधारमा पछि पारेका हुन । महिलातर्फको उपाधि गिता गुरुङले जितिन । गिताले २६ अंक बनाइन । सिनियर ६० बर्ष माथिको उपाधि आरआर पाण्डेले जिते । ३५ अंक बनाएका पाण्डेले विजय बहादुर श्रेष्लाई पछि पारेका थिए ।
लङ्गेस्ट ड्राइभको पुरस्कार नोर्वु शेर्पा, क्लोजेस्ट टु द पिनको पुरस्कार रविन्द्र तिवारी र मोस्ट बर्डीको पुरस्कार तासी दोङले जिते । नेपाल गल्फ संघले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता गल्फर सुवास तामाङको घर निर्माण सहयोगका लागि च्यारिटी गल्फ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताबाट सुवासको लागि १५ लाख रुपियाँ सहयोग जुटेको छ ।

टिप्पणी लेख्नुहोस्