छोराको बुवा बने युवराज सिंह
काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर युवराज सिंह बुवा बनेका छन् । उनकी श्रीमती हेजल कीचले छोरालाई जन्म दिएकी छिन् । युवराजले मंगलबार सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन् । बलिउड अभिनेत्री हेजल कीचले पनि आफ्नो इन्स्टाग्राममा आफु आमा बनेको जानकारी दिएकी छिन् ।
युवराज सिंहले १२ नोभेम्बर २०१५ मा हेजल कीचसँग इन्गेजमेन्ट गरेका थिए । करिब एक वर्षपछि ३० नोभेम्बर २०१६ मा दुवै विवाह बन्धनमा बाँधिएका थिए । युवराजले हेजल कीचलाई मनाउन निकै संघर्ष गर्नुपरेको थियो । युवीले एक अन्तर्वार्तामा हेजललाई मनाउन आफुले धेरै पापड बेलेको बताएका थिए । हेजलले करिब ३ महिनापछि मात्र सामाजिक सञ्जालमा उनको फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेकी थिईन ।
सन् १९८१ डिसेम्बर १२ मा चण्डीगढमा जन्मेका युवराज सिंहले १० जुन २०१९ मा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा भनेका थिए । युवराजले ३०४ एकदिवसीय खेल खेलेका छन् । जसमा उनले ३६.५५ को औसतमा ८ हजार ७ सय १ रन बनाएका छन । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको नाममा कुल १४ शतक र ५२ अर्धशतकहरू छन्। युवराजले ४० टेस्ट खेलमा १९ सय रन बनाएका छन् । जसमा ३ शतक र ११ अर्धशतक समावेश छ ।
युवराजले ५८ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ हजार १ सय ७७ रन बनाएका छन् । जसमा उनको ८ अर्धशतक पनि समावेश छ । युवराजले टेस्टमा ९, एकदिवसीयमा १११ र टी-२० अन्तर्राष्ट्रियमा २८ विकेट लिएका छन् । युवराजले सन् २०१७ मा इङ्ल्यान्डविरुद्ध खेलेको टी–२० उनको करियरको अन्तिम अन्तर्राष्ट्रिय खेल थियो।
हेजल कीचले आफ्नो करियर विज्ञापनबाट सुरु गरेकी थिइन् । उनले सलमान खानको फिल्म ‘बॉडीगार्ड’ मा दोस्रो मुख्य अभिनेत्रीको रुपमा काम गरेकी थिइन् । उक्त फिल्ममा उनी करीना कपूरकी साथीको भूमिकामा देखिएकी थिइन् ।
बडीगार्डका अलावा हेजलले ‘म्याक्सिम’, ‘धर्म संकट’ र ‘बाँके की क्रेजी बारात’ जस्ता बलिउड फिल्ममा पनि काम गरिसकेकी छिन् । हिन्दीका साथसाथै उनी तेलुगु र पञ्जाबी फिल्ममा पनि देखा परेकी छिन् । उनले ‘बिग बोस सिजन ७’ मा पनि सहभागीता जनाएकी थिइन् ।

टिप्पणी लेख्नुहोस्