लेख विवरण

जिम्बाबे र आयरल्यान्डबीच खेलको क्रममा भूकम्पको कम्पन महसुस

जिम्बाबे र आयरल्यान्डबीच खेलको क्रममा भूकम्पको कम्पन महसुस

काठमाडौं । वेष्ट इन्डिजमा भइरहेको यु-१९ विश्वकपमा जिम्बाबे र आयरल्यान्डबीचको खेलको क्रममा भूकम्पको कम्पन महसुस गरिएको थियो । केही सेकेण्ड लगातार क्यामेरा तीव्र गतिमा हल्लेपछि यस्तो खुलासा भएको हो ।

ट्रिनिडाडस्थित क्वीन्स पार्क ओभल स्टेडियममा खेलिएको खेलमा आयरल्याण्डका स्पिनर म्याथ्यु हम्फ्रिसले छैटौं ओभर बलिङ गरिरहेका थिए, अचानक लाइभ म्याच देखाउने क्यामेरा हल्लिन थाल्यो। केही सेकेन्डको लागि यो निरन्तर हल्लियो। मैदानमा उपस्थित दुवै टोलीका खेलाडीले यो कुरा थाहा पाएनन् । तर कमेन्ट्री बक्समा बसेका कमेन्टेटरहरुले भूकम्पको कम्पन महसुस गरे र यसको बारेमा जनाए ।

कमेन्टेटर एन्ड्रु लियोनार्डले भने, "मेरो विचारमा अहिले यहाँ भूकम्प आएको छ। हामी साँच्चै भूकम्पको सामना गर्दैछौं। हामी पछाडिबाट कुनै रेल गएको मात्र होइन, सम्पूर्ण क्वीन्स पार्क ओभल मिडिया सेन्टर हल्लियो जस्तो लाग्यो," उनी हाँस्दै भनिरहेका थिए। खेलको समयमा प्रत्यक्ष कमेन्ट्री गरिएको यो भिडियो अहिले सोशल मिडियामा व्यापक रुपमा भाइरल भइरहेको छ।

अन्डर–१९ विश्वकपमा ९ औं स्थानका लागि खेलिएको यस खेलमा जिम्बाबेले पहिलो ब्याटिङ ४९ ओभरमा १६६ रन बनाउदै अल आउट भयो । जवाफमा आयरल्यान्डले ३२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.