जोस हेजलवुड आईपीएलको प्रारम्भिक चरणमा सहभागी नहुने
काठमाडौँं । रोयल च्यालेन्जर्स बैंग्लोरमा आवद्ध तीब्र गतिका बलर जोस हेजलवुड शुक्रबार अहमदाबादमा सुरु हुने आईपीएलको उद्घाटन खेलमा सहभागी हुन नसक्ने भएका छन् ।
क्रिकेट अष्ट्रेलियाको आधिकारिक वेबसाइटका अनुसार भारत भ्रमणबाट स्वदेश फर्किएका हेजलवुड अहिले सिड्नीमै रहनेछन् र आईपीएलमा सामेल हुनुअघि मेडिकल स्टाफसँग परामर्श लिनेछन् । तर, प्रतियोगितामा उनी पछि आरसीबी टोलीसँग जोडिने सम्भावना यथावत नै छ ।
हेजलवुड ‘एक्लिस टेन्डिनाइटिस’ बाट पीडित भएपछि भारत भ्रमणबाट पछि हट्न बाध्य भएका थिए । उनले भारतविरुद्धको एकदिवसीय शृंखला पनि गुमाउनु परेको थियो । उनले पछिल्लो पटक जनवरीमा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए । आईपीएलपछि तत्कालै विश्व टेस्ट च्याम्पियनसिप र एसेज जस्ता ठूला प्रतियोगिताहरू हुने भएकाले उनको फिटनेसलाई नजिकबाट नियालिनेछ।
आरसीबीले सन् २०२२ को मेगा लिलामीमा हेजलवुडलाई ७.७५ करोड भारतीय रुपैयामा किनेको थियो। उनले गत सिजन खेलेका १२ खेलमा कुल २० विकेट लिएका थिए । यसअघि इंग्ल्याण्डका ब्याट्सम्यान विल ज्याक्स प्रतियोगिताबाट बाहिरिएका थिए । उनको स्थानमा माइकल ब्रेसवेललाई टोलीमा समावेश गरिएको छ । गत सिजन आरसीबी टोलीका स्टार खेलाडी रजत पाटीदार पनि चोटका कारण आईपीएलको पहिलो लेगबाट बाहिरिने भएका छन् ।
आरसीबीले आफ्नो पहिलो खेल २ अप्रिलमा एम चिन्नास्वामी स्टेडियममा मुम्बईसँग खेल्नुपर्नेछ।

टिप्पणी लेख्नुहोस्